भदौ २२, काठमाडौं । नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मंगलबार मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन ।
विगतमा शाह र गहतराज दुबै माधवकुमार नेपाल नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरूले माधव पक्षलाई छाड्दै एमाले नै रोजेका हुन् ।
एमाले उपाध्यक्ष भीम रावल निकट शाहले यसअघि एमालेको स्थायी समितिको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । एमालेले मन्त्री फिर्ताको निर्णय गराउँदा उनी उक्त निर्णय विपरीत प्रदेश सरकारमा मन्त्रीको रुपमा नियुक्त भएका थिए ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १७:२३ मा प्रकाशित






























