२२ भदौ, स्याङ्जा । नेपाली कांग्रेश स्याङ्जाका नेता तथा भिरकोट नगरपालिकाका मेयर छायाराम खनालले पार्टीको आगामी जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका हुन् । सन्सारन्युजसँग कुरा गर्दै मेयर खनालले आफुले आगामी जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका हुन् ।
झण्डै साढे चार दशकदेखि निरन्तर रुपमा नेपाली प्रजातान्त्रिक आन्दोलनमा जोडिएर नेपाली कांग्रेशको राजनीति गर्दै आएका खनाल २ पटक सम्म तत्कालिन स्वरेक गाविस र अहिले भिरकोट नगरपालिकाको मेयर पदमा रहेर काम गरिरहेका छन् । उनी स्थानिय सत्ता सञ्चालनमा अनुभवी र आम जनतामा लोकप्रिय मानिन्छन् ।
पार्टीको तल्लो कमिटीदेखि जोडिएर काम गर्दै आएका खनाल स्याङ्जाली राजनीतिकर्मिहरुमा अनुभवी, वैचारिक, क्षमतावान र निरन्तर सक्रिय नेताको रुपमा परिचित छन् । प्रजातान्त्रिक आन्दोलन र पार्टीको संगठन निर्माणमा पुर्याएको योगदानको हिसाबले तथा वैचारिक, क्षमतावान र एक अवसरको रुपमा उनि आगामी जिल्ला अधिवेशनको सन्दर्भमा सबैभन्दा प्रभावशाली उम्मेदवार देखिएका छन् । आफ्नो उम्मेदवारी वैचारिक, शसक्त र गतिशिल कंग्रेश पार्टी निर्माणका लागि भएको खनालको भनाई छ ।
नेपाली कांग्रेश स्याङ्जाको आगामी अधिवेशनका लागि अहिलेसम्म छायाराम खनाल, बुद्धीबहादुर राना र राजु थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १९:३१ मा प्रकाशित






























