भदौ २३, काठमाडौं । एमाले विभाजन पछि सरकारकै टुंगो नभईरहेका बेला बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भने मन्त्रिपरिषद विस्तारमा लागेकी छिन् । सरकार बनेको २१ दिनसम्म मौन बसेकी उनी नेकपा (एकीकृत समाजवादी)को सनाखत सकिएको भोलिपल्ट विस्तारमा जुटेकी हुन् ।
बागमती प्रदेशका एमाले प्रमुख सचेतक दिपक निरौलाले बताएअनुसार आज नै मन्त्रिपरिषद विस्तारको तयारी गरिएको छ । शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्ती गर्ने तयारी गरेकी छिन् ।
बताइएअनुसार आजै दिउँसो मन्त्रीहरुको नियुक्ति र सपथको तयारी गरिएको छ ।
भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनको असर हेर्न मन्त्रिपरिषद विस्तारमा जुटेकी थिइनन् । शाक्यले मुख्यमन्त्री बनेलगत्तै नियुक्त गरेका २ मन्त्रीमध्ये कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै मन्त्रीबाट राजीनामा दिएका थिए ।
बहुमत सांसदको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनसँगै भने अल्पमतमा पुगेकी छिन् । ५६ प्रदेश सभा सदस्यसहित बहुमत अवस्थामा रहेको एमाले पार्टी विभाजनसँगै ४३ सीटमा खुम्चिएको छ । ११० सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन एमालेलाई थप १३ सांसदकै आवश्यकता पर्दछ ।
वि.सं.२०७८ भदौ २३ बुधवार ११:२६ मा प्रकाशित






























