१५ फागुन । पाकिस्तान सरकारले शिशु कक्षादेखि १० जोड दुईसम्म अध्ययनरत २ सय नेपालीलाई जनही १० हजार छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले शुक्रबार आयोजित समारोहमा छात्रवृत्ति चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नतीमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे ।
नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताए । सार्कले पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याएको पनि उनले उल्लेख गरे ।
पाकिस्तानी दूतावासका कार्यवाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रसन्नता प्रकट गर्दैै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिए ।
चार वर्षदेखि पाकिस्तान सरकारले ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बर्सेनि १० हजारका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । गत वर्ष यो कार्यक्रमबाट १ सय ५० विद्यार्थी लाभान्वित भएका थिए ।