भदौ २९, काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दुवैलाई नेकपा (एकीकृत समाजवादी) रोज्दा कारबाही गर्न नपाईने अन्तरिम आदेश दिएको हो ।
समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले कायम गर्न नमानेपछि उनीहरु सर्वोच्च पुगेका थिए । दुवैले नेकपा (एस) रोज्न पाउनुपर्ने माग अदालतमा राखेका थिए ।
सर्वोच्चले उनीहरू दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारही नगर्न नगराउनु भनि अन्तिम आदेश जारी गरेको हो।
‘निवेदकहरू पाण्डे र भट्टले नेकपा (एकिकृत समाजवादी) दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारबाही नगर्नु नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’, उक्त इजलासको आदेशमा उल्लेख छ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १०:३३ मा प्रकाशित






























