काठमाडौं । ‘वसुधैव कुटुम्बकम्’को भावनालाई आत्मसात् गर्दै तीनदिने अन्तर्राष्ट्रिय नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।
चारु साहित्य प्रतिष्ठान नेपाल र भारतको क्रान्तिधरा साहित्य अकादमीद्वारा काठमाडौंको बद्रीनाथ होटलमा जेठ १५, १६ र १७ गते तीनदिने अन्तर्राष्ट्रिय नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको हो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा उद्घाटन सम्पन्न महोत्सवको चारु साहित्य प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले भारत, भुटान र नेपालका साहित्यकारको स्वागत गरेका थिए भने समारोहको सञ्चालन कञ्चना झाले गरेकी थिइन् ।
नेपालकि ममता मृदुल, राधिका पन्थी लगायतले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन भने भारतकि दीपा पन्त ‘शीतल’ र देवयानीले राजस्थानी सांस्कृतिक नृत्य प्रस्तुत गरेकी थिइन् ।
उद्घाटन सत्रको अतिथिहरूमा नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष शैलेन्द्र मोहन झा, समाजसेवी अमर किशोर सिंह, वरिष्ठ समाजसेवी सुशील जैन, भूटानबाट आमन्त्रित लेखक लक्ष्मीदास शर्मा, अच्युत घिमिरे ‘उन्मुक्त’, वातावरणविद् रमेशचन्द्र गोयल, रहेका थिए ।
प्रमुख अतिथि झलनाथ खनालले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, साहित्यिक तथा सामाजिक सम्बन्धबारे प्रकाश पार्दै यस्तो महोत्सवले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाइरहने बताए ।

प्रमुख अतिथि खनाल लगायत अतिथिहरूले भुटानका साहित्यकार लक्ष्मीदास शर्माको ‘चारु सरोबर’ चारुसङ्ग्रह, काठमाडौंका साहित्यकार राजेन्द्रकुमार बज्राचार्यको ‘चाँद की मुहब्बत’ हिन्दी चारुसङ्ग्रह, काभ्रेका साहित्यकार छत्रपति दाहालको ‘मुकुलिका चारुचाङ्ग’ र नवलपुरका साहित्यकार रसज्ञ छहराको ‘छहरा’ चारुसङ्ग्रह लगायतका कृतिहरू विमोचन गरिएको थियो ।
महोत्सवको मुख्य उद्देश्य ‘वसुधैव कुटुम्बकम्’को भावनासहित नेपाल र भारतबीच साहित्य, कला, संस्कृति, अनुसन्धान तथा आध्यात्मिकताको माध्यमबाट जोड्नु, एकअर्काका सिर्जना र अनुसन्धानसँग परिचित गराउनु कार्यक्रमको उदेश्य रहेको चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीले बताए ।
उक्त कार्यक्रममा पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक समीक्षा, साहित्यिक तथा सामाजिक परिचर्चा, अन्तर्वार्ता, लघुकथा वाचन, शोधपत्र प्रस्तुति, ओपन माइक, बहुभाषिक कवि सम्मेलन, चारुका साथमा गजल, खोरिया , उदक, झिल्का,टुक्का, बाछिटा, पन्चाङ्ग वाचन गरिएका थिए।
महोत्सवको दोस्रो दिन प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीको यातायात सहयोगमा सहभागी साहित्यकारहरूलाई पाटन दरवार र भक्तपुर दरबारको अवलोकन गराइएको थियो ।
सो अवसरमा इन्दु पौडेलको नेतृत्वमा साना तथा मझौला व्यवसायी महासंघले स्वागतमा भोजनको व्यवस्था गरेको थियो । साँझ बहुभाषिक कविगोष्ठीको आयोजना गरिएको थियो ।
तेस्रो दिनको पहिलो सत्र डा घनश्याम परिश्रमीको अध्यक्षतामा प्रमुख अतिथि संस्कृतिविद लक्ष्मण रायमाझीले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
खोरिया साहित्य सृजनाको तर्फबाट जनार्दन अधिकारी धड्कनको नेतृत्वमा खोरिया साहित्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो ।
डा. विजय पण्डित, डा. देवी पन्थी र जनार्दन अधिकारी धड्कन लगायतले काठमाडौं घोषणापत्र जारी गरेका थिए । नेपाल भारत साहित्य महोत्सव हुने आगामी सम्भावित स्थानहरू लुम्बिनी, लखनउ या बैंकक रहेको देवी पन्थीले सहभागीलाई जानकारी दिए ।
वि.सं.२०८३ जेठ २१ बिहीवार १९:३१ मा प्रकाशित






























