भारत । विश्वव्यापी कोरोनाको महामारीका कारण भारतका २९ करोड बालबालिकाको पढाई प्रभावित भएको समाचार छ ।
२९ करोड मध्ये १३ करोड युवती रहेको युनेस्कोले जनाएको छ । युनेस्कोका अनुसार भारतमा हाल स्कुल छोडेका आधाभन्दा बढी युवतीहरु पुनः स्कुल नर्फिकने भएका छन् ।
कोरोनाका कारण प्रि–प्राइमरी तथा सेकेन्डरी लेवलका ११ करोड भन्दा बढी बालबालिका अझै पनि स्कुल शिक्षाबाट टाढा रहेको भारतीय संमाचार ऐजेन्सीले लेखेका छन् । भारतमा यति ठूलो संख्यामा स्कुल छोडेका बालबालिकाको यो संख्या विश्वभरका विद्यार्थीहरुको ७. ५ प्रतिशत हो ।
कोरोनाका कारण विश्वभरीका स्कुलहरु ४ देखि ५ महिनाका लागि बन्द रहे । सन् २०२० को मार्चमा कोरोना संक्रमण तिब्ररुपमा बढेसँगै स्कुलहरु पनि बन्द भए । भारतका केही प्रदेशमा त पछिल्लो १८ महिनादेखि स्कुलहरु बन्द रहेका छन् । भौतिक रुपमा उपस्थित नभएपनि अनलाइनबाट लिइएका कक्षाहरु त्यति प्रभावकारी नभएको बताइएको छ ।
अझ इन्टरनेटको पहुँच नभएका विद्यार्थीहरुका लागि त अनलाइन क्लास शून्य जस्तै भएको बताइन्छ । तर पछिल्ला केही समययता भारतका विभिन्न राज्यमा स्वास्थ्य प्रोटोकल अपनाएर स्कुलहरु संचालन गरिएको छ ।
भारतमा संक्रमणका कारण स्कुल छोड्ने बालबालिकाको संख्या अरुणान्चल प्रदेशमा बढी रहेको छ । त्यहाँ स्कुल छोड्नेको संख्या ३४.३ प्रतिशत रहेको छ । यो भारतभरीमै सबैभन्दा बढी रहेको बताइएको छ ।
वि.सं.२०७८ कात्तिक २५ बिहीवार १४:१५ मा प्रकाशित





























