काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कात्तिक पहिलो सातादेखि आन्दोलित कानून व्यवसायीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । बिहीबार कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आक्रामक रुपमा नाराबाजी गरेका छन् ।
उनीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, विचौलियाको नाइके राजीनामा दे’ भन्दै नाराबाजी गरेका छन् । प्रहरीले धर्नामा हस्तक्षेप गरेपछि वकिलहरुले आक्रोशपूर्णं रुपमा उक्त नाराहरु लगाएका हुन् ।

नाराबाजीसँगै केही वकिलहरुले सर्वोच्च परिसरमा सम्बोधन पनि गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले राजीनामा नदिए ‘घोक्रेठ्याक’ लगाएर निकाल्ने पनि चेतावनी दिए । नाराबाजीकै बीच बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाले राजीनामा नदिई आन्दोलन नरोकिने बताए ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै झण्डै दुई सातादेखि सर्वोच्चका १९ न्यायाधीश पनि आन्दोलित छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका इजलास बहिस्कार गरिरहेका छन् ।
तर, प्रधानन्यायाधीश राणा भने राजीनामा बाहेकका विकल्पमा मात्रै छलफल गर्ने बताईरहेका छन् । उनले संवैधानिक बाटोबाट मात्रै निकास दिने बताईरहेका छन् ।
वि.सं.२०७८ कात्तिक २५ बिहीवार १४:३२ मा प्रकाशित






























