काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह अनौठो शैलीमा भारत भ्रमण सकेर फर्किएका छन् । बिहीबार बर्दियामा आयोजित एक कार्यक्रममा सहभागी भएका उनी दुई दिने भारत भ्रमण सकेर शनिबार फर्किएका हुन् ।
उनको स्वीकय सचिवालयले सिंह भारतमा उपचार गराइरहेका पारिवारिक सदस्यलाई भेट्न गएको दाबी गरेको छ । तर, उनको भ्रमण पारिवारिक भेटघाटभन्दा राजनीतिक रहेको बुझिएको छ ।
सिंह कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार बन्ने योजनामा छन् । पार्टी सभापतिका उम्मेदवारको तयारी गरिरहेका सिंहको एकाएक भारत भ्रमण अर्थपूर्णं देखिन्छ ।
सिंह हालको भारतीय सत्तारुढ दल भाजपा र पूर्व सत्तारुढ दल कंग्रेस दुवैसँग परिचित छन् । उनले राजनीतिक रुपमा छलफल गरेको सम्भावना कांग्रेसभित्रका नेताहरु बताउँछन् ।
पौडेल समूहबाट अलग भए सिंह
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताका रुपमा चिनिएका सिंह पछिल्लो समय पौडेल समूहबाट बाहिरिएका छन् । आफ्नो पक्षमा पौडेल समूहका नेताहरुले सहयोग नगर्ने देखेपछि सिंह बाहिरिएका हुन् ।
उनी निकटस्थले बताएअनुसार पौडेल समूहले बोलाउने बैठकमा सिंह जान छाडेका छन् ।
गठबन्धन सरकारको गतिविधि हेर्न भन्दै पौडेल नेतृत्व बनाइएको संयन्त्रप्रति पनि उनले खुलेरै विरोध जनाएका थिए । देउवाले पौडेललाई आफ्नो पक्षमा पारिसकेको विश्लेषण सिंहको रहेको छ ।
सिंह फरक समूहको सिर्जना गर्दै पार्टी सभापतिमा उठ्ने तयारीमा छन् । भारत भ्रमणलाई उनलाई थप राहत दिएको देखिन्छ ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार १६:२१ मा प्रकाशित





























