काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका उम्मेदवारका रुपमा चित्रित गरिएका महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच निकै कटुतापूर्णं विवाद चलेको छ । सिंहले सभापतिको उम्मेदवारी दिन लागेको सन्दर्भमा कोइरालाले ‘हैसियत’ छैन भन्ने अभिव्यक्ति दिएपछि दुईबीच विवाद चलेको हो ।
नेता कोइरालाले प्रकाशमानलाई काठमाडौं बाहिर कसैले नचिन्ने बताएका थिए । सर्लाहीमा आयोजित एक कार्यक्रममा उनले सिंहलाई कार्यकर्ताले नपत्याउने टिप्पणी गरेका थिए ।
‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ, तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ, काठमाडौं बाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन्, उहाँ महामन्त्री हुनुभयो, तर कार्यकर्ताबीच उहाँमा आत्मीयता देखिँदैन ! कोइरालाले भनेका छन् ।
कोइरालाले यस्तो टिप्पणी गरेपछि सिंह निकै आक्रोशित देखिएका छन् । उनले आफ्नो रेकर्ड हेर्न चुनौती दिएका छन् । आफ्नोविरुद्व कोइरालाले निकै तल्लो खालको टिप्पणी गरेको भनाई सिंहको छ ।
बुधबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले भनेका छन्, ‘म लक्षित निकै अपाच्य टिप्पणी सुनें, प्रकाशमानको रेकर्ड हेरोस्, के म काठमाडौंको भोटले मात्र जितेको हुँ ?’
महामन्त्री शशांक कोइरालातर्फ संकेत गर्दै पूर्वमहामन्त्री सिंहले भने, ‘म फलानो भएकाले मैले मात्र हराउन सक्छु भन्ने, कसरी भन्दा थाहा छैन भन्ने होइन ।’
यसअघि विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच पटक–पटक देउवाको विकल्प खोज्नेबारे छलफल भएको थियो । देउवा र पौडेल पक्षका यी नेताहरुबीचको छलफलले कांग्रेसभित्र नयाँ समिकरणको विकास भईरहेको देखिन्थ्यो । तर, छताछुल्ल बनेको विवादले भने छलफल निरअर्थक रहेको देखाएको छ ।
वि.सं.२०७८ मंसिर १ बुधवार १६:३४ मा प्रकाशित






























