काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने छन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्ने छन् ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए
संसदीय समितिको बैठक बस्दै
आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।
पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ ।
वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१८ मा प्रकाशित






























