काठमाडौं । नेकपा (एमाले)ले संसद बैठक चल्न नदिने स्पष्ट पारेको छ । माधवकुमार नेपाल नेतृत्वका सांसदहरुलाई कारबाही नभएसम्म संसद चल्न नदिने उसको अडान छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको बताए । ‘गैरसांसद्हरुलाई बैठकभित्र राखेर संसद् चल्न सक्दैन। र निष्पक्ष भूमिका सम्पादन गर्न नसक्ने सभामुखले त्यो ढंगले बैठकलाई अगाडि बढाउन सक्नुहुन्न। यी दुइटा कुरामा सुधार हुनुपर्छ, हामी हाम्रा पूर्वमान्यतामा यथावत् छौं। यो कुरा हामीले भन्दै आएका छौं’, उनले भने।
एमालेले उठाएको अडानलाई ध्यान नदिएसम्मले एमालेले संसद चल्न नदिने उनको भनाइ छ । ‘उहाँहरुले गम्भीरतापूर्वक नलिँदासम्म नेकपा एमालेले आफ्नो अडानहरुलाई त्यसैगरी प्रस्तुत गरिरहन्छ’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्ति संसदभित्र राखेर संसद चलाउने ? हामीले पार्टीबाट साउन २५ गते निष्कासन गरेका व्यक्ति असार ५ गते आउँछन् भने स्वीकार्य हुँदैन।’
सरकारले आगामी मंसिर २८ गतेका लागि संघीय संसदको बैठक बोलाएको छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १६:१३ मा प्रकाशित




























