काठमाडौं । नबिल बैंकले आफ्नो आधिकारिक ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।
‘नबिल डिजिबैंक पोर्टल’ मार्फत् बैंकका ग्राहकहरूले अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन÷सेवालाई स्वचालित बनाएको जनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मंसिर २३ गते आयोजित एक कार्यक्रमकाबीच नबिल डिजिबैंक पोर्टलको शुरुवात गरेका हुन् ।
कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बैंकले उल्लेख गरेको छ । विगत ३७ वर्षमा विभिन्न उपलब्धि मध्ये नबिल डिजिबैंक पनि एक भएको बैंकको भनाइ छ । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको बैंकले हो । नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट÷क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध हुनेछन् ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् ।
भीकेवाईसीको शुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध हुनेछन् । भीकेवाईसी छनौट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ । बैंकका अनुसार नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्छन् ।
ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ । कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँ बाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार २१:०९ मा प्रकाशित





























