काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुप्रति जनतामा विश्वास मरेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक लिक बाहिर पुगेको बताए ।
सरकार सरकारजस्तो नभएको, संसद संसदजस्तो नभएको र अदालत अदालतजस्तो नभएको उनको भनाइ थियो ।
‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन। अदालत अदालत जस्तो छैन। यो सबैलाई ठीक लगाउने कसले ? राजनीतिले। तर राजनीति ठिक छैन’, उनले भने।
राजनीति लिकभन्दा बाहिर पुगेको भन्दै उनले नेतालाई गाउँमा जाँदा ‘चोर’ भन्ने गरेको बताए । ‘कुनै एउटा गाउँमा म वा अन्य कोही नेता पुग्नुभयो भने पार्टीका कार्यकर्तालाई नेता आए भनेर आम जनता बोलाउन जानुपर्ने अवस्था छ,’ उनले भने ‘यसरी बोलाउँदा जनताले नेता आएछ भनेर हैन, कुन चाहिँ चोर आएछ भनेर भन्ने गरेका छन्।’
लिङ्देनले राजनीतिलाई सही ठाउँमा ल्याउन पनि व्यवस्था परिवर्तन गर्नुपर्ने बताए । राजसंस्थासहितको व्यवस्था ल्याउनुपर्ने उनको प्रस्ताव छ ।
उनले भने, ‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सोझै निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद ल्याऊँ । अनि, संसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरौं । त्यसपछि राजनीति ठीक बाटोमा आउँछ ।’
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १६:२३ मा प्रकाशित




























