काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति व्यंग्यात्मक कटाक्ष गरेका छन् । कांग्रेसको सहयोगमा उभिएको भन्दै उनले कांग्रेसले छाड्ला भन्ने चिन्ता बोकेर हिँडेको टिप्पणी गरे ।
‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ, सँगै जानुपर्छ भनेको त्यहि डर हो’, प्रचण्ड र माधवप्रति इंगित गर्दै उनले भने, ‘सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि ? सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला ।’
‘एक्लै हिँड्न रहर गर्नु राम्रो होइन’ भन्ने प्रचण्डले भनेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भने, ‘कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र रु एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन ।’
ओलीले अरु पार्टीका नीति नलिइ आफ्नै नीतिमा अगाडि हिँड्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाब दिए । उनले सरकारमा नरहे पनि देश बनाउने विषयमा कांग्रेसको साथमा एमाले रहने उनले बताए ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १७:०९ मा प्रकाशित




























