काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार नेकपा माओवादी केन्द्रको नौ वटा प्रदेशको अधिवेशनको संयुक्त रूपमा काठमाडाँैबाट उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी समेत गरेका छन् ।
“माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।” अध्यक्ष प्रचण्डले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौँ र जनतालाई विश्वासमा लियौँ भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए । उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए । अध्यक्ष दाहालले पार्टीमा कमी÷कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरे ।
‘नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔँ’
अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे । अध्यक्ष दाहालले हामी आफैँ दुविधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले भने, “विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडल हामी आफैँले खोजी गर्नुपर्छ ।”
अध्यक्ष दाहालले विचार, सङ्गठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पारे । उनले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशनलाई पञ्च¥यालीको सङ्ज्ञा दिए । पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्च¥याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएका बताए ।
अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हेरिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगाए । पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँबाट रुपान्तरण जरुरी रहेको भन्दै उनले राष्ट्रिय सम्मेलनसम्म पुग्दा माओवादी नयाँ विचारका साथ परिस्कृत हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले पार्टीभित्र गुटबन्दी लगायतका विभिन्न खालका समस्या रहेको बताए ।
‘गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो वैचारिक स्पष्टताको अभावले भएको हो”, अध्यक्ष दाहालले भने । उनले विचारमा स्पष्टता नहुँदा गन्तव्य स्पष्ट नहुने र जताततै अँध्यारोमात्रै देखिने बताए ।
“सबैतिर अँध्यारो मात्रै देखेपछि कसरी जाँगर आउछ ? अब नयाँ तरिकाले जानुको विकल्प छैन ।” अध्यक्ष दाहालले भने .
उनले समस्या र विचारको अस्पष्टताबाट बाहिर निस्केर अगाडि बढ्नुपर्ने र आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा नयाँ दस्तावेज आउने बताए ।
वि.सं.२०७८ मंसिर २५ शनिवार १८:३९ मा प्रकाशित




























