काठमाण्डौं । शुक्रवारसम्म नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तत पार्टीको कुनैपनि पदमा उम्मेदवारी दिएनन् ।
शुक्रवार रातिसम्म प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग सभापतिमा आफुलाई छोड्न भन्दै छलफलमा जुटेका वरिष्ठ नेता पौडेलको आग्रहमा सिंह र कोइराला टसमस नभएपछि नेता पौडेल सभापति पदबाट ब्याक हटेका हुन् ।
आफ्नै समूह विभाजनमा आएपछि शनिवार उम्मेदवारी मनोनयन दर्तामा समेत सहभागी नभएका नेता पौडेलले उम्मेदवारी मनोनयनको केही समय अगाडि विज्ञप्ति जारी गर्दै सभापति नेतृत्वको निर्वाचनबाट पछि हटेको बताएका छन् ।
‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौं महाधिबेशन नेतृत्वको प्रतिश्पर्धाबाट अलग रहने निर्णय गरेको छु ।’ नेता पौडेलले विज्ञप्तिमा भनेका छन् ।
नेता पौडेलले पार्टीको महाधिबेशन केवल व्यक्तिको छनौट गर्ने थलो मात्र नभएको भन्दै यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवस्यक रहेको बताएका छन् । उनले पार्टीका सबै कार्यकर्ता र महाधिबेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन समेत आग्रह समेत गरेका छन् ।
‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ,’ नेता पौडेलले भनेका छन्, ‘पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरु वीपी, गणेशमान र किशुनजीले आर्दश र मूल्यका लागि जीवनभर लड्नु भयो, संघर्ष गर्नु भयो, त्यो आज निर्थरक हुन लागेको पीडा बोध भइरहको छ ।’

वि.सं.२०७८ मंसिर २५ शनिवार १९:३६ मा प्रकाशित




























