काठमाडौं । निरन्तरको संसद अवरोधलाई सरकारले गरेको वेवास्ताप्रति कांग्रेस नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन् । उनले पुनः संसद विघटन गराउन खोज्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनामा सरकार फसेको त होइन भनि प्रश्न पनि उठाएका छन् ।
सभापतिको टुंगो लागेकै दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले ओलीको नियतीमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सर्मपण गरेको त होइन भन्ने प्रश्न उठाएका हुन् ।
‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्’ पौडेलले भनेका छन्, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठर्हनेछ ।’
राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने षडयन्त्र हुनसक्छ भन्दै सबैलाई सचेतता अपनाउन पनि पौडेलको आव्हान छ । उनले व्यवस्था नै उल्ट्याउने दुष्प्रयास गरिएको समेत बताएका छन् ।
‘राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु, देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो, समावेशी संसदीय प्रणाली नै सिद्द्याउन खोजिएको देखिन्छ’, उनले भनेका छन् ।
संसद विघटन वा गठबन्धन परिवर्तनको योजनामा ओली
सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संसद विघटनलाई पुष्टी गर्ने योजनामा उद्धत छन् । उनले संसदमा बिना कुनै एजेण्डा निरन्तर अवरोध सिर्जना गराइरहेका छन् ।
यसअघि दुई/दुई पटक गरिएको संसद विघटनलाई पुष्टी गर्ने योजनामा उनी देखिन्छन् । तर, एमालेले बिनाकारण निरन्तर गराइरहेको संसद अवरोधलाई प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले भने वास्तै गरेका छैनन् । सत्ता गठबन्धनको दोस्रो दल नेकपा (माओवादी केन्द्र)ले संसद अवरोध खुलाउन पहल गरिरहेको बेला देउवा भने मौन देखिन्छन् ।
अहिले एमसीसीलगायतका विवादास्पद एजेण्डालाई जबरजस्त रुपमा अगाडि ल्याउने पनि प्रयास भइरहेको छ । यदि एमसीसीलाई अगाडि ल्याइएमा सत्ता गठबन्धन परिवर्तन हुने निश्चित छ । देउवा सोही दिशातर्फ केन्द्रित त होइनन् भन्ने प्रश्न यसअघिदेखि नै उठ्दै आएको हो ।
ओलीले गठबन्धनलाई भत्काउने शैलीमा निरन्तर अभिव्यक्ति दिइरहेका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा पनि उनले गठबन्धनभित्र मनमुटाव गराउने शैलीमा अभिव्यक्ति दिएका थिए । तर, प्रचण्ड र माधवले उक्त विषयलाई प्रतिवाद गरिरहँदा देउवा भने नतमस्तक छन् । जसले देउवा कतै ओलीसँग साँठगाँठ गरिरहेका त छैनन् भन्ने देखाउँछन् ।
उसो त सरकार निर्माणदेखि नै पटक–पटक दूतहरु पठाएर देउवाले ओलीलाई मनाउने र विश्वासमा राख्ने प्रयास गर्दै आएका थिए ।
वि.सं.२०७८ मंसिर २९ बुधवार १३:०५ मा प्रकाशित




























