
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन चल्दै गर्दा मुख्यतः पदाधिकारीमा को–को आउलान् भन्ने चासो सबैलाई परेको छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै निर्विकल्प जस्तो देखिएको बेला वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष, महासचिव र सचिवसहितका पदमा को–को अटाउलान्, माओवादीभित्र र बाहिर चर्चा छ । सँगै अध्यक्षपछि शक्तिशाली बनाउन खोजिएको वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा प्रचण्डले कसलाई अगाडि सार्लान् भन्नेमा चासो सबैतिर परेको छ ।
माओवादीले अन्तरिम विधानलाई परिमार्जन गर्दै १५ सदस्यीय पदाधिकारी बनाउने तयारी गरेको छ । माओवादीले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षको व्यवस्था गर्न लागेको छ ।
वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ र महराको चर्चा
माओवादीमा विधानतः वरिष्ठ उपाध्यक्ष बनाएर नयाँ अभ्यास गर्न खोजिएको छ । जिम्मेवारीका हिसाबले कति शक्तिशाली रहने भन्ने यकिन नभएको भएपनि वरियताको हिसाबले अध्यक्ष पछिको दोस्रो रहने हुँदा वरिष्ठ उपाध्यक्ष पदलाई चासोपूर्वक हेरिएको हो । अहिले माओवादीमा वरिष्ठ उपाध्यक्ष पदमा मुख्यतः दुई नेता कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठको दाबेदारी देखिन्छ ।
शान्ति प्रक्रियापछि पार्टी एकता गर्दै माओवादी बनेका श्रेष्ठले एक दशकभन्दा बढीको यात्रामा प्रचण्डलाई निकै मिठो साथ दिएका छन् । आफ्नो निकै नजिक रहेर काम गरिरहेका श्रेष्ठलाई नै प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिनसक्ने बुझाई कतिपयको छ ।
तथापी, व्यक्तित्व र लिगेसीको हिसाबले श्रेष्ठभन्दा पनि कृष्णबहादुर महराको दाबेदारी भने वरिष्ठ उपाध्यक्ष पदका लागि बलियो रहेको माओवादी नेताहरुको विश्लेषण छ । महरा युद्धकालदेखि प्रचण्डका निकै सहयोगी जस्ता पात्र हुन् । प्रचण्डको भित्रि योजनाकारका रुपमा समेत अथ्र्याइएका महरालाई प्रचण्डले टाढा राखेर जान नसक्ने अवस्था रहेको माओवादी नेताहरु बताउँछन् । युद्धकालदेखि माओवादीको महत्वपूर्णंमा जिम्मेवारीमा रहेका महरासँग लिगेसीको पनि महत्वपूर्णंं स्थान छ ।
माओवादी केन्द्रभित्र माओवादी एकताको अभियान चलाएदेखि महरा थप शक्तिशाली जस्ता पात्र देखिएका छन् । उनले तत्कालिन जनयुद्धसँग जोडिएका माओवादी घटकहरुबीच एकताको पहलसमेत गरिरहेका छन् । बताइएअनुसार महराले वरिष्ठ उपाध्यक्ष पद छाड्ने अवस्था रहेमा शक्तिशाली महासचिवको पदमा दाबी छाड्ने छैनन् ।
अध्यक्ष पछिको शक्तिशाली महासचिव बनाउने तयारी
माओवादीमा नारायणकाजी श्रेष्ठको व्यवस्थापनलाई निकै नै महत्वपूर्णं मुद्दाको रुपमा लिइएको छ । उमेर र राजनीतिक नेतृत्वको हिसाबले पनि श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष पद दिइनुपर्ने कुरा माओवादीभित्रै चर्चामा छ । माओवादीभित्र पूर्व एकता केन्द्र मशाल समूहको नेतृत्व गरिरहेका श्रेष्ठलाई उचित व्यवस्थापन गर्न नसकिए उक्त समूह भाँडिने खतरा छ ।
अहिले माओवादीभित्र पूर्व एकता केन्द्रलाई ध्यानमा राख्दै वरिष्ठ उपाध्यक्षको पद श्रेष्ठलाई दिएर महासचिव पदलाई थप शक्तिशाली बनाउने विषय पनि छलफलमा छ । कतिपय नेताहरुले प्रतिष्ठाको लागि श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष दिएर शक्तिशाली महासचिवको खोजी गर्नुपर्ने धारणा राखिरहेका छन् ।
तर, चुनौतिपूर्णं विषय महासचिवमा निकै धेरै दाबेदार देखिन्छन् । शक्तिशाली महासचिव बनाउने विषयमा महरासँगै जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुनलगायतको दाबेदारी देखिन्छ । एकातिर महराको जबरजस्त दाबेदारी र अन्य नेताहरुको पनि बलियो दाबेदारीका कारण माओवादीमा महासचिव चयन गर्न पनि निकै सकसपूर्णं हुने स्पष्ट छ ।
कतिपय हालै सम्पन्न प्रदेश अधिवेशनमा देखिएका घटनाजस्तै पदाधिकारीमा निर्वाचन हुनसक्ने पनि बताइरहेका छन् । माओवादीले प्रदेशबाट निर्वाचनको प्रक्रियालाई पनि नेतृत्व चयनमा आत्मसाथ गरेको थियो ।