काठमाडौं । निर्वाचन आयोगले मतादाता संकलन कार्य निरन्तर जारी रहेको जनाएकोछ ।
स्थानीय तहको निर्वाचनलाई आधार मानेर मंसिर १७ गतेदेखि संचालन गरिएको मततदाता दर्ता विशेष कार्यक्रम पुष १९ मा सम्पन्न भएपनि स्थानीय निकायको निर्वाचनको मिति घोषणा नहुँदासम्म संकलन कार्य निरन्तर जारी रहने आयोगले बताएको छ ।
आयोगका अनुसार उक्त विशेष कार्यक्रम सम्पन्न भएपनि देशभरका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयहरुबाट भने मतदाता नामावली संकलनको कार्य निरन्तर रुपमा भइरहेको र निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निरन्तर भइरहने जनाएको हो ।
आयोगले आफ्नो स्थायी ठेगाना भन्दा अन्यत्र जिल्लामा बसोबार गरिरहेका नेपाली नागरिकहरुको सुविधाका लागि अस्थायी रुपमा बसोबास गरिरहेको जिल्लास्थित निर्वाचन कार्यालयबाट समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने छ ।
यस्तो छ उपत्यकाको हकमा
आयोगले उपत्यकाको हकमा अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय, काठमाडौं, सल्लाघारी, सिर्जनानगरमा रहेको जिल्ला निर्वाचन कार्यालय, भक्तपुर, जावलाखेल (स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवन) मा रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरबाट बाह्र जिल्लाको मतदाताको नाम दर्ता गर्ने कार्य भइरहेको पनि आयोगले जनाएकोछ ।
आयोगले अन्यत्र स्थायी ठेगाना भई हाल काठमाडौं उपत्यकामा अस्थायी रुपमा बसोबास गरिरहेकाहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन र बाँकी नेपाली नागरिकहरुले आवस्यक कागजातसहित आफुलाई पायक पर्ने ती स्थानमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने र उक्त नामावली निजको स्थायी ठेगाना भएको स्थानीयतहको सम्बन्धीत वडामा दर्ता हुने गरी पठाइने व्यवस्था रहेको छ ।
वि.सं.२०७८ पुस २० मंगलवार १५:२१ मा प्रकाशित




























