काठमाडौं । ज्योति विकास बैंकले देशका विभिन्न पाँच अस्पतालहरूलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरिएको ’हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त सहयोग गरेको बताएको छ ।
बैंकले लिपानिबिर्ता स्वास्थ्य चौकी–परवानीपुर, हेटौँडा अस्पताल–हेटौँडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी– फापरबारी, चन्द्रनिगाहपुर अस्पताल– चन्द्रनिगाहपुर र इनरुवा अस्पताल– सुनसरी गरी पाँचवटा स्वास्थ्य संस्थालाई राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेका बेबी वार्मर प्रदान गरेको हो । वार्मर वितरण गरिएका अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट सम्बन्धित अस्पतालका पदाधिकारीहरूलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा बेबी वार्मर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले १३ औँ वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रर्वद्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ’न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सम्झौताअनुरुप सो केन्द्रको ’न्यानो नानी’ परियोजना– २ का लागि सहयोग प्रदान गरेको थियो ।
बैंकले यसअघि पनि राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल– कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल– नवलपुर, महाकाली अञ्चल अस्पताल –कञ्चनपुर, प्युठान जिल्ला अस्पताल– प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र– महोत्तरी, आम्दा अस्पताल– झापा, जिल्ला अस्पताल– खोटाङ, सामरी स्वास्थ्य चौकी– नुवाकोट, बेनी अस्पताल– म्याग्दी र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र– बाग्लुङलाई एक–एक थान गरी १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ । बैंकले हाल मुलुकभर १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम बुथमार्फत बैंकिङ सेवा उपलव्ध गराउँदै आएको छ ।
वि.सं.२०७८ पुस २० मंगलवार १९:५५ मा प्रकाशित




























