काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचन अघि नै एमाले अध्यक्ष केपी ओलीले पराजय स्वीकार गरिसकेको बताएका छन् । नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘आज तपाईंहरुले केपी ओलीको एउटा भाषण सुन्नुभयो होला। भाषणमा उनले राष्ट्रिय सभाको निर्वाचनमा हाम्रो पराजय निश्चित छ भनेर भने। हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘तर, कसरी स्वीकार गरे होलान, त्यो दम्भी स्वभावले त दिँदैन।’
उनले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने पनि टिप्पणी गरे । अध्यक्ष नेपालले एमालेभित्र कुनै नीति पद्धति नरहेको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हाबी भएको जिकिर गरे ।
‘त्यहाँ कुनै नीति पद्धति छैन। नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने। देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरी पूजक र भजनमण्डली मात्रै बस्ने प्रवृति छ,’ उनले भने, ‘त्यहाँ सिद्धान्तनिष्ठ कार्यकर्ता, आलोचनात्मक चेत, विश्लेषण गर्ने, सही र गलत छट्टाउन सक्ने मानिसहरु नै छैनन्। त्यहाँका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति होइनन्। पूजक र हनुमान प्रवृति, अझ भन्दा गणेश प्रवृति भएकालाई मात्रै ठाउँ छ। त्यसैले त्यो समूह भित्र विद्रोह भइरहेको छ।’
अब ओलीबाट एमाले पार्टी नबन्ने र नचल्ने पनि बताए । उनले अहिले ओलीले गठबन्धनलाई भाड्न खोजेको आरोप पनि लगाए ।
वि.सं.२०७८ पुस २३ शुक्रवार १६:४३ मा प्रकाशित




























