काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ ।
प्रचण्डको निजी सचिवालयले जानकारी दिए अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै लेखेका छन् :
‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।”
माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ।
माओवादी केन्दको राष्ट्रिय महाधिवेशनमा सहभागी धेरैमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ तथा केही सदस्यहरु पनि कोरोना संक्रमित बनेका छन् । माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई समेत कोरोना भएपछि कार्यालय नै बन्द गरिएको छ।
वि.सं.२०७८ पुस २४ शनिवार १०:०७ मा प्रकाशित



























