खोटाङ । नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन् । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भएका छन् ।
श्याम पोखरेलको अध्यक्षतामा नौ सदस्यीय लेखा आयोगसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले जानकारी दिए । दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको एमाले खोटाङले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन शुक्रबार नै पारित भएको थियो । शुक्रबार उद्घाटन भएको अधिवेशन सर्वसम्मतको प्रयासमा ढिलो गरी सम्पन्न भएको हो ।
विसं २०५४ देखि पार्टीको जिल्ला कार्यसमितिमा लगातार काम गरेका अध्यक्ष दङ्गाल एमाले विभाजन हुँदा एमालेमै रहेका थिए । विसं २०७२ वैशाखमा सम्पन्न छैटौँ अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत चयन भएका उनी तत्कालीन अध्यक्ष बबि चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अध्यक्षमा मनोनित भएका थिए ।
प्रेस चौतारी खोटाङको अध्यक्षमा राई
प्रेस चौतारी नेपाल खोटाङका अध्यक्षमा सीताराम राई ‘सञ्जीव’ चयन भएका छन् । दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता दाहाल, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् । समितिको सदस्यमा मनोज आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जिवी रिजाल, रोशन राई र उमेश भुजेज रहेका छन् । पाँच सदस्यीय सल्लाहकार समितिमा दमन राई, हरिवोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई रहनुभएको छ । प्रदेश र केन्द्रीय प्रतिनिधि जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने नवनिर्वाचित सचिव रिजालले जानकारी दिए ।
अधिवेशन उद्घाटन समारोहमा सहभागी वक्ताहरूले पत्रकार विभिन्न पार्टी तथा सङ्गठनमा आवद्ध भए पनि पेशागत धर्ममा निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए ।उनीहरुले पत्रकारले राजनीतिक आस्थाका आधारमा पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड समेत दिएका थिए ।
वि.सं.२०७८ पुस २५ आइतवार ०८:३६ मा प्रकाशित




























