काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उस्तै भएको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले दुवैसँग पार्टी एकता सम्भव नरहेको स्पष्ट पारे ।
प्रचण्डहरु अदालतको कारण बाध्य भएर माओवादी बनेको भन्दै उनले माओवादी केन्द्र माओवादी नभएको बताए ।
“प्रचण्ड जीहरुले पुरानो व्यवस्था र संविधान स्वीकार गर्नु भएको छ”, वैद्यले भनेका छन्, “उहाँहरु इच्छाले माओवादी हुनु भएको होइन, उहाँहरुलाई त अदालतले माओवादी बनाइदिएको हो, बाध्यताले माओवादी बनेकासँग कसरी एकता ?”
उनले प्रचण्ड र विप्लवबीच धेरै समानता भएको बताए । “विप्लवजीहरुले समाजवाद जनमत संग्रहबाट आउँछ भन्नुभएको छ, यता प्रचण्डजीहरुले पनि शान्तिपूर्णं रुपमै समाजवाद आउँछ भन्नुभएको छ”, वैद्यले भनेका छन्, “उहाँहरु दुवैको लाइन मिल्ने दिशामा छ, उहाँहरुबीच अहिले खास भिन्नता छैन ।”
वैद्यले पार्टीहरुका बीचमा एजेण्डागत हिसाबले भने कार्यगत एकता सम्भव रहेको बताए । उनले एमसीसी र राष्ट्रियताका एजेण्डामा पूर्वमाओवादी घटकहरुबीच सहकार्य सम्भावना रहेको बताए ।
वि.सं.२०७८ पुस २७ मंगलवार १५:११ मा प्रकाशित



























