
पछिल्लो केही दिन यता विश्वभर नै कोरोनाको प्रकोप आक्रामक रुपमा देखिन थालेको छ । संक्रमणदर र मृत्युदर अस्वभाविक रुपमा बढ्न थालेको छ । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखा पर्नु र प्रकोप आक्रामक हुनुले महामारीको तेस्रो लहर आएको त होइन भन्ने प्रश्न उब्जाएको छ । संसार न्यूजकी टिका कुरुम्बाङले नयाँ भेरियन्ट ओमिक्रोन देखापरेसँगै अस्वभाविक रुपमा बृद्धि भएको संक्रमणदर र मृत्युदरप्रति डा. सुन्दरमणि दिक्षीतसँग केही जिज्ञासा राखेकी छिन् । डा. दिक्षितसँग कुरुम्बाङले गरेको कुराकानीको सम्पादित अंश :
के कोभिडको तेस्रो लहर आएको हो ? अवस्था के हो ?
कोरोनाको नयाँ लहर आएको, नआएको कुरा नगरौं, हामी सबै यसबाट संक्रमित छौं । यो हाम्रै वरिपरि नै घुमिरहेको छ । यो म्युट्रेसन हामी भित्रै पनि छ बाहिरबाट पनि आउँछ । हामीसँग छ भन्ठानेर अगाडी बढ्नुपर्छ र त्यो म्युट्रेसन हुन्छ । त्यसकारण हामीले आफ्नो सर्तकता अपनाऔं ।
यो फस्ट वेभ, सेकेण्ड वेभ, थर्ड वेभ, फोर्थ भन्ने कुरा अर्थ छैन । यो ओमिक्रोन त भित्रि सकेको थियो । ओमिक्रोन आइसके पछि त फैलिन्छ । यसको मेन स्ट्रेन्थ भनेकै फैलिने भएकाले यो म्याक्सीमम् फैलिन्छ । तर, यो रोगको कडा क्षमता छैन् । तैपनि धेरै मानिसलाई संक्रमण गरेपछि रोगीहरुको संख्या बढ्छ । बढ्ने बित्तिकै अस्पतालमा चाप हुन्छ । अस्पतालले जब धान्न नसक्ने अवस्था हुन्छ तब मुलुकलाई समस्या पर्छ ।
अहिले युरोप र बेलायततिर त्यहि भइरहेको छ । उनीहरु भनिरहेका छन् की हाम्रो हेल्थ सिस्टमले अब धान्न नसक्ने भयो । भेन्टिलेटर, आइसीयु पर्याप्त छैनन्, त्यसैले यसको बेग बढ्दै गएको छ । हामीले बढ्छ बढ्छ भन्ठानेर अगाडी बढ्नु पर्छ । सकेसम्म फैलिन कम गर्नका लागि सरकारका तर्फबाट पनि हाम्रो तर्फबाट पनि नागरिकको तर्फबाट पनि सचेतता अपनाउनु आवश्यक हुन्छ ।
तपाईँ यो क्षेत्रमा रहेर हेरिरहँदा, के अहिले जे–जसरी संक्रमितहरु देखिएका छन् के ति सबै ओमिक्रोनका संक्रमित हुन् ?
त्यो भन्न मिल्दैन । ओमिक्रोन टेष्ट गर्ने प्रविधि नै बेग्लै चाहिन्छ । हामी पुरानो पीसीआरबाट मात्रै त्यसको यकिन गर्न सक्दैनौं । त्यो म्युटियन्स् त धेरै आइसक्यो नि । पहिले म्युटियन्स् ३४ भन्थे अब ५०, ६० पुगिसक्या छ । म्युटियन्स् जति बढ्यो पीसीआरको टेक्निक सिस्टम अपग्रेड हुुनुपर्छ । तर, त्यो हामीसँग पर्याप्त छैन । अब डेल्टा होस् की ओमिक्रोन होस्, अझ अहिले त डेल्टा र ओमिक्रोनको बिहाबारी भइकन डेल्टाक्रोन नै जन्मीसक्या छ । त्यसैले अब हाम्रो लागि चाँही ओमिक्रोन छ, यो फैलिएको छ । यो संख्या हामीले पत्ता लगाउन नसकेको हुनाले मात्र त्यो भा हो । अन्यथा लिनु पर्दैन, यो फैलिएको छ हामी कहाँ ।
नयाँ भेरियन्ट भन्ने वित्तिकै धेरैमा बेग्लै त्रास सिर्जना हुन्छ । ओमिक्रोनसँगै देखिएको त्रास कति जायज ?
साउथ एफ्रिकाबाट सुरु भएको ओमिक्रोन आज युरोप र अमेरिकासहित विश्वभर फैलिएको छ । यो निकै आक्रामक रुपमा फैलिरहेको छ । यसरी हेर्दा डराउनु पर्ने जस्तो पनि देखिन्छ, तर, यसको प्रभाव हेर्दा खास डराउनु पर्ने देखिन्न । यसबाट सामान्य रुघाखोकी ज्वरोका लक्षण देखिएका छन् । तथापी, हामीले वास्ता गर्नु पर्दैन भन्ने त्यो सोच ल्याउनु हुँदैन । हेलचेक्र्याईँ गर्नु हुँदैन ।
स्वास्थ्य पूर्वाधारको हिसाबले हामी निकै कमजोर अवस्थामा छौं । नयाँ–नयाँ भेरियन्ट देखिँदै गर्दा कत्तिको चुनौति थपिएको मान्नुहुन्छ ?
अल्फा, विटा, डेल्टा जुन भने पनि यो रोग तपाईँलाई लाग्यो, पीसीआर नेगटिभ भयो, तपाई ठीक हुनु भयो तर, यसले लङ कोभिड भन्ने अहिले रोग नै विकास भएको छ । त्यसको मतलब तपाईँलाई त्यसको असर चाहीँ शरीरको अनेक अंगमा ब्रेन, कीड्नी, हार्टलगायतमा परेको देखिन्छ । अर्कोतिर, यो कोभिड हुने मानिसहरुलाई अन्य रोगमा धक्का परेको छ । सुगर, बल्डप्रेसर, हार्टलगायतमा समस्या हुनेलाई थप जटिल बनाइदिएको छ । अर्कोतिर, नयाँ–नयाँ रोगीलाई पनि यसले समस्या पारिरहेको छ । यसले नयाँ–नयाँ रोगी पनि पैदा गराएको छ । एक प्रकारले भन्ने हो भने मल्टीपल्ट एट्याक छ । त्यसैले हामीले नित्य सतर्कता अपनाउनु पर्छ । किन भने हामीसँग चुनौती धेरै छ । सामान्य रोगीलाई पनि यो धेरै चुनौतिको विषय बनेको छ । त्यसैले यसले हामीलाई ठुलो समस्या गर्न सक्छ, ओभरअल हेल्थमा ।
रोकथाम तथा नियन्त्रणमा लागि खास के गर्नुपर्छ जस्तो लाग्छ ?
हामीले यो विचार गर्नुपर्छ बाहिरबाट अवश्य पनि आउँछ खासगरी भारतबाट । भारतमा आउने वित्तिकै हाम्रो ओपन बोडर भएको हुनाले नआई छाड्दै छाड्दैन । ओपन बोडर छ त्यहाँ सरकारले जति चेक जाँच गरे पनि जति मेहनत गरे पनि त्यहाँ हन्डेट प्रसेन्ट गर्न सकिँदै सकिँदैन । नाका–नाकामा गरेर के गर्ने ? गाउँ–गाउँबाट गाको छ । ओल्लो गाउँको पल्लो गाँउ, पल्लो गाँउको ओल्लो गाउँ आइराख्या हुन्छ । जहाँ आउजाउ हुन्छ त्यहाँ कडाइ गर्नु पर्छ । त्यहाँ बसबाट आउँछन्, प्लेनबाट आउँछन्, तिनलाई हामीले कडाई गर्नुपर्छ ।
अब संसारभरिबाट आएको प्लेन मुख्य कीनभने ८ घण्टामा युरोपबाट हामीकहाँ आइपुग्छ । एयरपोर्टमा कडाई गर्नुपर्छ । संक्रमित देशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नै पर्छ, अर्को उपाय नै छैन् । क्वारेन्टाइनमा राख्ने व्यवस्था हन्डेन्ट प्रसेन्ट हुनुपर्छ । यसअघि निकै कमजोरी भएको थियो । हामीले परीक्षणलाई कडाईपूर्वक गर्नुको विकल्प छैन । भ्याक्सीन लिएको छ कि छैन त्यो चेक गर्नै पर्छ । बिचमा करोना लागेको छ कि छैन् त्यो पनि चेक गर्नुपर्छ । नाका नाकामा एयरपोटमा हेल्थ डेक्स राखेर टेस्टिङ्ग गर्नुपर्छ ।
अहिले सरकारले जसरी काम गरिरहेको त्यो सन्तोषजनक छ ? के सुझाब दिनुहुन्छ ?
सबैभन्दा पहिला सरकारले भ्याक्सिन दिने कुरालाई जोड दिनुपर्छ । सत प्रतिशत जनतालाई भ्याक्सिन दिन जोड दिनुपर्छ । अहिले भुटान जस्तो मुलुकले पनि आफ्नो सबै नागरिकलाई सबै डोज भ्याक्सिन दिइसकेको छ । तर, हामीकहाँ ३०/४० प्रसेन्टभन्दा बढी नागरिकले भ्याक्सिन लगाएका छैनन् । बृद्ध र बालबालीकालाई पनि भ्याक्सिन लगाउने कुरामा सरकारले ध्यान दिओस् ।
भोली म्युट्रेसन टोटल चेन्ज भइदियो यो भ्याक्सीनले काम गर्न छोड्यो भनेदेखि त्यो बेला खड्किन्छ । त्यसैले सरकारले एकदम तदारुकताका साथ जति पैसा खर्च हुन्छ खर्च गरेर त्यो काम गर्नुपर्छ । यसमा सरकारको सबै बल प्रयोग गर्नुपर्छ । कुनै मन्त्रालय वा विभागले मात्रै गरेर हुँदैन ।
कोरोना नफैलिन सबैभन्दा महत्वपूर्णं भूमिका नागरिक तहको हुन्छ । तपाईँ नागरिकलाई के–कस्तो सुझाब दिनुहुन्छ ?
कोरोनाबाट बच्न हाम्रो जनताको हातमा २/३ वटा हतियार छन् । नम्बर १ माक्स जनताको भ्याक्सीनेसन् भनेको माक्स हो । नम्बर २ हामीले जानी/जानी दुरीलाई घटाउनु हुँदैन । हामीले भीडभाड गर्ने, धर्मकर्ममा, बिहाबारीमा भनेर संक्रमण बढाउने काम गर्नुहुँदैन । नेताहरुले भनेकै आधारमा जम्मा हुने काम अब बन्द गर्नुपर्छ । त्यो कुकर्म हो । किनभने त्यही एउटा कारणले जनता मर्ने अवस्था आउन सक्छ ।
माक्स अनिवार्य लगाउने, सकेसम्म सर्जिकल माक्स लगाउने । कपडाको माक्सले हुँदैन । नम्बर ३ हामी आफुलाई कोरोना लाग्यो भन्ने लागेमा जल नीति गर्ने । जल नीति भन्नाले घर घरमा पिनासका लागि मान्छेले सिकेका छन् । सानो टुटी भएको करुवा हुन्छ, त्यसमा मन तातो पानीमा नुन हाल्ने र नाकलाई सफा गरिदिने र त्यही पानीले कुल्ला गरिदिने र त्यो ३/४ दिन नाकमा बसेको भाइरस र घाँटीमा ३/४ दिन बसेको भाइरसलाई वास आउट गरेर तल लङसम्म पुग्नका लागि थोरै मात्र चान्स दिने ।
सबै ठाउँमा सेनिटाइजेसन् गर्न सकिदैन । खर्च पनि हुन्छ तर, जहाँ सकिन्छ सानो बोतल लिएर हिड्नुहोस्, सेनिटाइज गर्नुहोस् । साबुन पानी जहाँ पायो त्यहाँ पाइदैन । घरमा आए पछि त धुनै पर्छ । घरमा आए पछि त साबुन पानीले धुने, सेनिटाइज गर्ने । जथाभावी नखाने, चुरोट रक्सी नखाने, अनि हेल्थी फुड खाने, हेल्थी जीवनशैली अपनाउने ।
जडिबुटीहरुमा भाइरस मार्ने क्षमता हुन्छ । आफ्नो भान्सामा सकभर जडिबुटीका कुराहरु प्रयोग गर्ने । खानेकुरामा विशेष ध्यान दिने गर्नुपर्छ ।
अन्तिममा, लकडाउन गर्ने चर्चा छ । लकडाउनबारे तपाईँको धारणा के छ ?
यो दुई वर्षले हामीले देख्यौं भने लकडाउन गर्दैमा यसको समाधान हुने रहेनछ । युरोप र अमेरिकामा यसको प्रयोग त्यति सफल देखिएन । यसले थप आर्थिक चौपट पार्यो । सबै ठाउँमा स्वास्थ्य मापदण्डलाई कडाई गर्दै खुला गर्नु नै आवश्यक देखियो । रेष्टुरेन्ट, बार, ट्राभल सबैमा दुरी कायम गर्ने, माक्सको प्रयोग अनिवार्य गराउने, स्वास्थ्य मापदण्डका अरु कुरालाई ध्यान दिने कुरा आवश्यक देखियो । सरकारले पनि निर्देशन मात्र दिएर नहुने रहेछ भन्ने स्पष्ट भएको छ । सरकारले दिएको निर्देशनको फलोअप पनि गर्न अनिवार्य देखिएको छ । सरकारले त्यति ग¥यो भने फुल लकडाउन गर्नु पर्दैन स्मार्ट लकडाउन गरे पुग्छ ।
तर, त्यो स्मार्ट लकडाउनको मनटरिङ्ग सरकारले कडाईपूर्वक गर्ने । कति मान्छेले टेर्दैन्, त्यो नटेर्नेलाई पहिले सम्झाउने, नसम्झे सामान्य कारबाही गर्ने, त्यो गर्दा पनि मानेन भने दण्ड सजायँ पनि दिने । यहाँ सबैको जिउ ज्यानको सवाल छ ।