back
CTIZAN AD

जैमिनीका सबै टोलमा स्तरीय र दिगो सडक

वि.सं.२०७८ फागुन २ सोमवार

726 

shares

बलेवा । चार वर्षअघिसम्म नगरपालिका कार्यालयदेखि वडा कार्यालय पुग्न कठिन थियो । स्वास्थ्यचौकी र विद्यालय रहेको स्थानमा पनि जोखिम मोलेर हिँड्नुपर्ने अवस्थालाई जैमिनी नगरपालिकाले अन्त्य गरिदिएको छ ।

नगरपालिकादेखि सबै वडा कार्यालय हुँदै यहाँका विद्यालय र स्वास्थ्य संस्थामा अहिले सवारी साधन चढेर सजिलै पुग्न सकिन्छ । “भैपरी आउने समयमा बाहेक अब कुनै पनि वडा र स्वास्थ्य संस्थामा सजिलो बाटो पुगिन्छ”, बाग्लुङ जैमिनीका योजना अधिकृत प्रेमप्रसाद सापकोटाले भने, “जनप्रतिनिधि आएपछिको योजना र लक्ष्यले सफलता मिलेको हो ।” जनप्रतिनिधि आउनुअघि नगरपालिकामा २४७ किमी कच्ची सडक थियो । चार वर्षमा १३१ किमी नयाँ ट्रयाक खोलेर झण्डै ३०० किमी स्तरीयसमेत बनाइएको उनले जानकारी दिए ।

यी सडकको सञ्जाललाई पालिकाले दिगो सडक योजनाको नाम दिएको छ । “नगरपालिकाभित्रका १२ सडक सञ्जाललाई दिगो सडकको नाम दिएका हौँ, सबै वडामा एकएक र भूगोलले अप्ठ्यारो परेका दुई वडामा थप एक÷एक सडक छन्”, नगरप्रमुख इन्द्रराज पौडेलले भने, “कालीगण्डकी लोकमार्गमा पनि सहज पहुँचको व्यवस्थापन पुगेको छ ।” ग्रामीण सडकबाट लोकमार्गमा पहुँच पुग्दा बर्सातमा ग्रामीण सडकमा कुनै समस्या भए पनि सहज सदरमुकाम र अन्य सहरी क्षेत्रमा जान सकिने बनाइएको उनले बताए । नगरपालिकाले वडा नंं ७ जैदी र वडा नंं १० राङखानीलाई थप एक/एक वटा सडक थपेको हो ।

कुश्मीसेरादेखि राङखानी, नाम्दुक हुँदै बरेङ जाने सडक भने रणनीतिक सडकमा सूचीकृत छ । यो सडकलाई कालोपत्रे गरेर गुल्मीसम्म जोड्ने गण्डकी प्रदेश सरकारको बजेट र कार्यक्रममा समेत उल्लेख छ । उक्त खण्डमा भने प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पनि केही लगानी गरिसकेको छ । यसबाहेक सुन्तलाचौर दमेक हुँदै गाजाको दह जाने सडक, बेलबगरदेखि छिस्तीको वडा कार्यालय, स्वास्थ्यचौकी तथा केवै, जैदिको बोर, जैदी र धुल्लु तर्फका सडक, कुश्मीसेरादेखि बिनामारे अर्जेवा र सर्कुवातर्फका सडकस्तरीय भएका हुन् ।

“व्याडथलासम्म पुग्ने सडकस्तरीय छ, अहिले सजिलै आउजाउ गर्न सकिएको छ”, इन्जिनियर विवेक सापकोटाले भने, “हामीले कामलाई बिदाको दिन, कार्यालयभन्दा बाहिरको समय भनेका छैनौँ, नियमित गरेकाले केही सुधार देखिएको हो ।” ग्रामीण सडकका कतिपय घुम्तीलाई ढलान गरेर बर्सातमा नभत्कने बनाइएको उनले बताए ।
सदरमुकामदेखि कुश्मीसेरा पुग्ने सडककै अवस्थाले ग्रामीण बस्ती झनै अव्यवस्थित रहेकोमा नगरपालिका बनेपछि ग्रामीण सडक सुधारमा केन्द्रित भएको हो । “नगरप्रमुखज्यूले घोषणा गरेअनुसार सबै स्वास्थ्य संस्था र विद्यालयमा सहज सडक लैजाने योजना लगभग पूरा भएको छ”, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने, “बिरामी पर्दा उपचारमा आउजाउ भयो भने मानिसले विकास भएको अनुभव गर्ने रहेछ ।” यी आयोजनालाई नगरले हरेक वर्ष प्राथमिकतामा राखेकै कारण स्तरीय र दिगो सडक बनेको उनले बताए ।

कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकतर्फ भने विकास कार्यालयको ध्यानाकर्षण गराएको नगरप्रमुख पौडेलले जानकारी दिए । “हाम्रो कार्यक्षेत्र परेन, तर पनि ध्यानाकर्षण गरेर बर्सातमा कुनै यात्रीले दुःख नपाउने बनाउन भनेका छौँ”, उनले, “केही स्थानमा काम पनि भएका छन्, अब काम होला ।”
रासस/फाइल फोटो

 

वि.सं.२०७८ फागुन २ सोमवार १२:०३ मा प्रकाशित

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...