काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
मंगलबार बेलुका भएको उक्त भेटमा प्रधानमन्त्री देउवाले ओली समक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरेको एमालेका नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको पनि रिजालले जानकारी दिएका छन् ।
उक्त भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।
आइतवार संसदमा टेवुल भएको एमसीसी सम्झौता अनुमोदन गर्न सत्तारुढ गठबन्धनभित्रकै दलहरुले असहमत रहेका बेला प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग एमसीसी सम्झौता पारित गर्न सहयोग गरिदिन आग्रह गर्दै आएका छन् ।
उता नेकपा (एकिृकत समावादी) पार्टीको सोमवार बसेको केन्द्रीय समितिको बैठकले सदनमा टेवुल भएको एमसीसीको विपक्षमा मत दिने निर्णय नै गरिसकेको छ भने माओवादी केन्द्रले पनि प्रधानमन्त्रीले एमसीसी पारित गर्न जवर्जस्ती गरे सरकारबाटै बाहिरीने बताउँदै आएको छ ।
सत्तारुढ गठन्धनभित्रै असहमति बढ्दै गएपछि एमसीसी पारित गरेरै छाड्ने अडान लिँदै आएका देउवाले एमालेसँग सहकार्यका लागि संवाद अगाडि बढाउँदै आएका छन् ।
वि.सं.२०७८ फागुन १० मंगलवार २१:०४ मा प्रकाशित






























