काठमाडौं । नेपालले संधैका वर्षमा निर्यातको तुलनामा उच्च आयात गर्दै आएको छ । विगतका वर्षको तुलनामा चालु आवमा थप आयात हुन भएको सरकारी तथ्यांकले देखाएका छन् ।
उच्च आयातले देशको शोधानान्तर स्थिति खस्किँदै गएपछि राष्ट्र बैंकले कतिपय वस्तुको आयातलाई निरुत्साहित गर्नको लागि लिएको नीतिका कारण पछिल्लो एक महिनामा १२ अर्ब रुपैयाँ बराबरको आयातमा कमी आएको देखिएको छ ।
विगतका वर्षको तुलनामा चालु आवको सुरुवातदेखि नै उच्च आयात भएपछि त्यसले मुलुकको सोधान्तर स्थितिमा नकरात्मक असर देखिन थाल्यो, साथै मुलुकको अर्थतन्त्रको मुख्य पक्ष बैंकिङ क्षेत्र र समग्र आर्थिक प्राणालीमा नै असर पर्न पुग्यो ।
आयातकै कारणले मुलुकको अर्थतन्त्रमा देखिन लागेका समस्याहरुलाई न्यूनिकरण गर्नको लागि नेपाल राष्ट्र बैंकले गत पुस ५ गते परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन र २ वटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था ग¥यो ।
जसका कारणले पछिल्लो महिनामा मार्जिन राखिएका सम्बन्धित वस्तुको आयातमा कमी आएको छ ।
चालु आवको शुरुवातदेखि नै चाँदीको उच्च आयात भयो, चाँदीको उच्च आयातलाई घटाउन सरकारले भन्सार शुल्क बढाउनेदेखि वैदेशिक मुद्रा सटहीमा कडाइ गर्ने नीति अख्तियार गर्यो । जसले गर्दा पछिल्ला दिनमा चाँदी आयात निकै कम भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चाँदीको आयातको कडाइले मात्रै आयातको दरमा कमी नभएपछि राष्ट्र बैंकले गत पुस ५ गते नयाँ परिपत्र जारी गरेको थियो ।
नेपाल राष्ट्र बैंकले विभिन्न २० प्रकारका वस्तुको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि अहिले ती वस्तुको आयातमा कमी हुन थालेको छ ।
सरकारले गत पुसमा लागू गरेको नीतिको सकरात्मक प्रभाव बिस्तारै देखिन थालेको छ । माघ महिनामा नेपालले १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँको मात्रै आयात भएको छ । जुन चालु आर्थिक वर्षको कुनै पनि महिनाको तुलनामा कम हो । जुन अवस्था केन्द्रीय बैंकले कायम गरेको नगद मार्जिनको व्यवस्थाले भएको हो । केन्द्रीय बैंकले पुस ५ पछाडि फेरि माघ २८ गते थप २७ वस्तुमा नगद मार्जिनको व्यवस्था गर्ने नीति अगाडि सा¥यो ।
उक्त व्यवस्थाले आगामी दिनमा विदेशी वस्तुको आयातमा थप कमी हुने अनुमान गरिएको छ । नेपालमा विभिन्न भञ्सार मार्फत सामान्य अवस्थामा मासिक डेढ खर्ब रुपैयाँबढीको आयात हुँदै आएको थियो, जसमा माघ महिनाको आयात सबै महिनाको आयातको तुलनामा कमी हो ।
चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब ५० अर्ब ७३ करोड, भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड, असोजमा १ खर्ब ६४ अर्ब र कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड मंसिर महिनामा १ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँको आयात भएको थियो । चालु आवको हरेक महिनाको आयातले बढ्ने प्रवृत्ति ग्रहण गरेको देखिन्छ । तर, पुसमा लागू भएको मार्जिनको व्यवस्थाले सोही महिनाबाट आयातको परिमाणमा कमी हुन गएको छ । पुसमा नेपालले १ खर्ब ६० अर्ब ९३ करोड रुपैयाँको वस्तु आयात गरेको थियो ।
बढ्यो निर्यात
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्यांकअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । सात महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।
चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो । निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अबधिमा एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ ।
चालु आवको सात महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यस्तैगरी चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
सोही अवधिमा नेपालमा १४५ देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
सात महिनामा नेपालले भारतबाट छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ । नेपालको भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा रु एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ ।
वि.सं.२०७८ फागुन १० मंगलवार २१:३० मा प्रकाशित






























