काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ ।
अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।
अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिए । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिएका हुन् ।
मन्त्री शर्माले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनोट गरेको उनले प्रष्ट पारे । सो अवसरमा अर्थमन्त्री शर्माले पुँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सिर्जना गर्नुपर्ने समेत बताए ।
‘जनतामा भएको पैसा पुँजीबजारमा त आयो । अब यो पैसालाई पुँजी निर्माणमा लगाउन सक्नुप¥यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाइँहरु (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उनले भने, ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता हो ।’
इन्साइडर टे«डिङ, पम्प एड डम्प र सर्कुलर कारोबारजस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न मन्त्री शर्माले निर्देशन दिएका थिए । ‘म मन्त्रालयमा आउना साथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर टे«डिङजस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’, उनले भने, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’ रासस
वि.सं.२०७८ फागुन १८ बुधवार २१:१८ मा प्रकाशित






























