काठमाडौं । गत पुस १९ मा सम्पन्न आठौं महाधिवेशनको निर्णय विपरित एमसीसी अनुमोदन गरिएसँगै सत्तारुढ माओवादी केन्द्रभित्रको विवाद चरमतामा पुगेको छ । एमसीसीकै कारण पार्टी विभाजन उन्मुख देखिएको छ ।
एमसीसी अनुमोदनसँगै माओवादीभित्र पूर्वएकता केन्द्र तिव्र असन्तुष्ट छ । असन्तुष्ट पक्षले यसबीचमा बेग्लै छलफल तथा भेला पनि गरिरहेको छ ।
शुक्रबारदेखि बोलाइएको केन्द्रीय समिति बैठकमा एमसीसीकै कारण पूर्वनिर्धारित एजेण्डा छाँँयामा पर्ने निश्चित देखिएको छ । बैठकमा असन्तुष्ट पूर्वएकता केन्द्रले एमसीसीकै विषयमा बहस चर्काउने सम्भावना बढेको छ ।
एमसीसी सम्झौता अनुमोदनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिकाप्रति पूर्वएकता केन्द्र पक्ष असन्तुष्ट मात्रै छैन बेग्लै पार्टी निर्माणसम्मको विकल्पमा देखिएको छ । समूहले एमसीसी अनुमोदन गर्ने निर्णय राष्ट्रघाती भएको बताइरहेको छ ।
केन्द्रीय समितिमा फरक प्रतिवेदन लैजाने वा विभाजनमा जाने भन्ने विकल्पमा छलफल भइरहेको पूर्वएकता समूहका नेताहरु बताउँछन् । “केन्द्रीय समिति बैठकमा सहभागी हुन्छौं, आफ्ना कुरा स्पष्ट राख्छौं, त्यसपछि कसरी जान्छ हेर्छौं”, पूर्वएकता केन्द्र समूहकी नेतृ अञ्जना विशंखेले भनेकी छिन् ।
महाधिवेशनको निर्णयलाई लत्याउँदै एमसीसी अनुमोदन गरिएसँगै तिव्र असन्तुष्ट बनेको समूहलाई प्रचण्डको पछिल्लो अभिव्यक्तिले वैकिल्पक कोणबाट सोंच्न बाध्य बनाएको थियो । प्रचण्डले असन्तुष्ट समूहलाई लक्षित गरि “आफ्नो बाटो लागे हुन्छ” भन्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिएका थिए ।
एमसीसीलाई पत्र पठाएसँगै विवाद
नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको समूह तत्कालिन समय प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई “एमसीसी अनुमोदन गर्छौं” भन्दै गोप्य पत्र लेखेसँगै असन्तुष्ट बनेको थियो । तर, समूहले आफ्नो असन्तुष्टी सार्वजनिक रुपमा त्यति व्यक्त गरेको थिएन । तर, एमसीसी अनुमोदन गर्ने अवस्थामा प्रचण्डले पेलेरै जाने निर्णय लिएपछि भने समूहले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेको हो ।
नेता श्रेष्ठले एमसीसी अनुमोदन भएको दिनलाई ‘कालो दिन’को रुपमै चित्रण गरेका छन् । एमसीसी अनुमोदनकै दिन नेता श्रेष्ठले एमसीसीको विरुद्धमा संघर्षमा जाने घोषणा गरेका थिए ।
तर, संघर्षमै उत्रने घोषणा गरेको समूहलाई व्यवस्थापन होइन प्रचण्डले निक्लेर जान सुझाए । जसको नतिजा अहिलेको वार कि पारको अवस्था हो ।
पूर्वएकता केन्द्र समूहले महाधिवेशनले गरेको निर्णयमा केन्द्रीत रहेर बहस चर्काउने तयारी गरेको छ । बहसले एमसीसीको विषय नटुंगीएसम्म पदाधिकारी चयनदेखि अन्य विषयमा महत्व नपर्ने स्पष्ट पारिसकेको छ ।
एमसीसी विरोधी मत छ माओवादीभित्र
माओवादी केन्द्रभित्र एमसीसी विरोधी मत बलियो छ । पूर्वएकता केन्द्र पक्ष मात्रै नभई जनयुद्धबाट आएको नेतृत्व पंक्तिले पनि एमसीसीलाई राष्ट्रहित अनुकुल नभएको व्याख्या गर्ने गरेको छ । तल्लो नेता र कार्यकर्ता पंक्तिमा यसको थप प्रभाव देखिन्छ ।
पूर्वएकता केन्द्र पक्ष पार्टी विभाजनको अवस्था आएमा तल्लो तहसम्म बहस चर्काउने योजनामा छ । पक्षले तल्लो तहसम्म अन्तरसंघर्ष चलाई विभाजन गराउने योजना बनाएको देखिन्छ । एमसीसी विरोधी मतलाई पूर्वएकता केन्द्र पक्षले आफ्नो पक्षमा लिन सकेमा प्रचण्ड नेतृत्वको समूहलाई ठूलो नोक्सानी हुने निश्चित छ ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १३:१६ मा प्रकाशित






























