काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिर्वतनको जस माओवादीले लिन नसकेको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ(प्रस्तावित)को केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण त्यसलाई स्थापित गर्न नसकेको बताए ।
उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेको समेत बताए । पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागीता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको उनले बताए ।
प्रचण्डले अहिले पनि लगातार संविधानमाथि प्रहार भइरहको भन्दै यसलाई जोगाउन लागिपरेको धारणा राखे । समाजवाद उन्मुख अर्थतन्त्रलाई ठिक ढंगले लागू गर्नका लागि अघि बढ्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यवसायी महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद आचार्यले माओवादीको बिभिन्न कमिटीमा व्यवसायीहरुलाई कुनै स्थान नै नदिएको गुनासो गरे ।
कार्यक्रममा उपस्थित सहभागीहरुले अहिलेको अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।
वि.सं.२०७८ फागुन २५ बुधवार १६:१६ मा प्रकाशित






























