काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–यूक्रेनबीचको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुने बताएका छन् । सीएनएन टेलिभिजनसँगको संवादमा उनले यस्तो बताएका हुन् । उनले आफुँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुराकानी गर्न तयार रहेको बताए ।
जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको भन्दै वार्ता असफल भए विश्वकै लागि गम्भीर संकटको सिर्जना हुने बताए । “मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ, यूक्रेन सबै सम्भाबनाबारे खुला छ”, जेलेन्स्कीले भनेका छन् ।
यद्यपि रुससमर्थित पृथक्तावादीको पकडमा रहेका क्षेत्रहरूलाई युक्रेनले स्वतन्त्र भएको मान्यता दिनुपर्ने कुनै सम्झौतामा सहमति जनाउन नसक्ने उनले स्पष्ट पारेका छन् । उनले रुसी मागहरु पुरा गर्न नसकिने पनि प्रष्ट पारे ।
यूक्रेन नेटोको सदस्य राष्ट्र भएको खण्डमा रुसले अतिक्रमण गर्न सक्ने अवस्था नहुने जेलेन्स्कीको भनाई छ । उनले तत्कालै आफुँहरुलाई नेटोको सदस्यता दिन पनि माग गरेका छन् ।
“नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुपर्यो, किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्”, उनले भनेका छन् ।
के छन् पुटिनका माग ?
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनसँगको टेलिफोन वार्ताका क्रममा पुटिनले युद्ध रोक्न केही सर्तहरु अगाडि सारेका थिए । उनले आफ्ना चार माग पुरा भए युद्ध रोक्न तयार रहेको बताएका छन् ।
पुटिनले युक्रेन तटस्थ बस्नुपर्ने र नेटोको सदस्यताका लागि अघि बढ्न नहुने माग राखेका छन् । जसलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि स्वीकारिसकेका छन्।
युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस् भन्ने माग रुसले अघि सारेको छ । युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवं प्रभावको अन्त्य हुनुपर्ने माग पुटिनको छ ।
यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजणक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए। तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।
त्यस्तै, सहमतिमा पुग्नुअघि प्रत्यक्ष वार्ता गर्नुपर्ने कुरा अघि सारेका छन् । जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।
त्यस्तै, पुटिनले पूर्वी युक्रेनको डोन्बास क्षेत्रसँग सम्बन्धित केही माग अघि सारेका छन् । जुन स्पष्ट छैन तर, युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ । जुन निकै पेचिलो विषय हुनेछ।
अर्को अनुमान अनुसार युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता देओस् भन्ने रुसको चाहना छ । जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ। रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो। एजेन्सीकाे सहयाेगमा
वि.सं.२०७८ चैत ७ सोमवार १३:२१ मा प्रकाशित






























