काठमाडौं । रुस र युक्रेनबीचको युद्ध लगातार २८ औं दिन पनि जारी छ । रुसी सेनाले कीभलगायत धेरै सहरमा लगातार आक्रमण गरिरहेको छ ।
युद्ध रोक्नको लागि दुई देशबीच निरन्तर छलफल भइरहेको छ । तर, दुवै देश युद्ध रोक्न सहमत भइसकेका छैनन् ।
यूक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पुटिनको कठोर रवैया सहन नसक्ने खालको भएको बताएका छन् । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्तित्व बचाउका निम्ति रुसले आणविक हतियारको प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । दुई देशबीचको युद्धमा अमेरिकासहितका पश्चिमा शक्ति राष्ट्र सहभागी हुँदा युद्ध थप जटिल बनिरहेको छ ।
रुसले उडायो चेरनोबिलस्थित आणविक प्रयोगशाला
रूसी सैन्य बलहरूले चेर्नोबिल आणविक उर्जा प्लान्टको नयाँ प्रयोगशालालाई नष्ट गरेको छ । यूक्रेनी सरकारी सञ्चार माध्यमले बताएअनुसार मंगलबार रुसले उक्त प्रयोगशालालाई नष्ट गरेको हो । जुन रेडियोधर्मी फोहोरको व्यवस्थापन सुधार गर्न प्रयोग भइरहेको बताइएको छ ।
रुसी सेनाले युद्धको सुरुवातमै यो प्लान्ट कब्जा गरेको थियो । तर, उसले नष्ट गरेको थिएन ।
युरोपेली आयोगको सहयोगमा ६ अर्ब युरोको लागतमा निर्माण भएको प्रयोगशाला सन् २०१५ मा भएको सरकारी निकायले जनाएको छ । प्रयोगशालामा अत्यधिक सक्रिय र विकिरण आइसोटोप (रेडियो न्यूक्लाइड्स)को नमूनाहरू रहेको बताइएको छ । रेडियो न्यूक्लाइडहरू रासायनिक तत्वहरूको अस्थिर परमाणुहरू हुन् जसले विकिरण दिन्छ।
वि.सं.२०७८ चैत ९ बुधवार १२:१६ मा प्रकाशित






























