वालिङ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । प्रधानमन्त्री देउवाले स्याङ्जाको चापाकोट नगरपालिका-९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताए । “स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ”, प्रधानमन्त्री देउवाले भने, “स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।”
प्रधानमन्त्री देउवाले चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको समेत बताए ।
वि.सं.२०७८ चैत १० बिहीवार १२:२३ मा प्रकाशित





























