
..फुन्टीवाङ बैठकले तयारीका क्रममा बाबुराम भट्टराई र बादलका बीचमा दिल्लीमा मोर्चाबन्दी भएको रहेछ । फरक फरक ठाउँबाट आएका नेताहरुलाई फरक फरक गाउँमा राखिएको थियो । बादल कुरेलीमा थिए । बादलको वासस्थानमा गएर मैले भनेँ, ‘प्रचन्डसँग लडौँला तर बाबुरामसँग सम्झौता गर्नु ऐतिहासिक भूल हुन्छ, त्यसो गर्नुहुँदैन ।’ मलाई बादलको वासस्थानमा देखेपछि मणि थापा र देवेन्द्र पौडेल केही नबोली फर्किएका थिए । त्यतिखेर उनीहरुको अनुहार हेर्न लायक थियो । दिल्लीमा खिँचडी खान बादल तयार छैनन् भन्ने उनीहरुले बुझिहाले । बादललाई सहयोगी हात बढाउने र बाबुराम भट्टराईबाट पृथक गराउने प्रयासमा अरु जिम्मेवार युवा नेताहरु पनि क्रियाशील रहेको पनि पछि मैले थाहा पाएँ । फुन्टीवाङमा बाबुरामले कमरेड बादललाई अस्वाभाविक हमला गरेका थिए ।
लावाङ बैठकमा मैले बाबुरामलाई भनेका थिएँ, “तपाई एकजना लेखक त हो तर नेता होइन ।” उनले मलाई “साथीहरुको मन जित्न सकिनँ” भनेका थिए । बाबुराम भट्टराई दक्षिणपन्थी हो, उसबाट क्रान्तिलाई क्षतिबाहेक अरु केही हुँदैन भनिरहन्थेँ । प्रचन्डले बाबुरामलाई लिएर जानुपर्छ भनिरहन्थे । बाबुरामसँग मेरो कहिल्यै सहज सम्बन्ध भएन । उनी सर्वहारावर्गको हितमा होइन कि आफ्नो र अर्को वर्गको हितमा काम गर्ने व्यक्ति हुन् कुरा अहिले उनी आफैँले नै प्रमाणित गरिदिए ।
फुन्टीवाङ बैठकमा बादलको लिनप्याओवादीसम्बन्धी कारबाही फुकुवा गर्न प्रचन्ड बाध्य भएका थिए । कमरेड बादल विशेष केन्द्रीय कमान्ड ‘नेवा र ताम्सालिङ’ को जिम्मा लिएर आए । विभागीय जिम्मा रवीन्द्र श्रेष्ठको थियो । बादलले मलाई आफूसँग नै स्थानान्तरण गर्ने माग गरेपछि म फेरि काठमाडौं पुगेको थिएँ । मलाई प्रचन्डले बादलको मान्छे भन्ठान्थे भने बादलले प्रचन्डको मान्छे भन्ठान्थे । ममा बादलप्रति सहानुभूति बढ्दै गएको थियो । तर, एउटाका कुरा अर्कालाई सुनाइनँ । कमरेड बादलको सल्लाहमा एउटा काममा जाँदै गर्दा गिरफ्तार भएर ६ महिना बेपत्ता र ६ महिना जेलमा समेत बसेको थिएँ ।
चुनवाङ बैठकमा सबैजना एक तह घटुवा गर्ने निर्णय भयो । तर, सेती–महाकाली, भेरी–कर्णाली यथावत् राख्ने निर्णय भयो । दलित र दुर्गम क्षेत्रका नेताहरु खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, लेखराज भट्ट एवम् विदेश विभागका इन्द्रमोहन सिग्देल र धर्मेन्द्र बास्तोलालाई घटुवा नगर्ने निर्णय तर्कपूर्ण नै लाग्थ्यो । घटुवा नहुनेमा राम कार्कीलगायत पनि परेका थिए । त्यतिबेला मैले प्रचण्डसँग “राम कार्कीलगायतलाई किन घटुवा नगरेको त ?” भनेको थिएँ । प्रचण्डले झर्किँदै भनेका थिए, “सन्तुलन मिलाउन परेन !” म त्यतिखेर आश्चर्यमा परेको थिएँ । त्यसबेला प्रचण्डलाई “तपाईले पार्टी सिध्याउनुभयो” भनेर अरु केही नबोली हिँडे । त्यसपछि प्रचण्डले मेरो पछाडि मान्छे लगाउन थाले । रवीन्द्र श्रेष्ठलाई कारबाही गरेपछि प्रचण्डको हर्कत झन शङ्कास्पद लाग्न थाल्यो ।
किरणको विषयमा ममा सधैँ स्थिर धारणा रह्यो । उनमा वैचारीक क्षमता छ ; ढाँटछल गर्दैनन् भन्ने मलाई लागिरह्यो । तर, यिनले नेतृत्व गर्छन् भन्ने कहिल्यै लागेन । सायद, किरणलाई पनि मैले त्यसरी नै सोच्छु भन्ने थाहा हुँदो हो । उनले बेलाबेलामा छेडछाड पनि गर्थे । एक दिन दुर्गादेवीले भनेकी पनि थिइन् “तपाईले किरणलाई कहिले पो नेता मान्नुभएको थियो र !”…
ईश्वरी प्रसाद दाहाल ‘असारे’ को हालै प्रकाशित ‘संङ्घर्षका पाइला’ बाट लिइएको केही अंश