काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार र बिहिवार २ दिनसम्म चलेको उक्त बैठकमा ११ वटा ऐजेन्डामाथि छलफल र निर्णय भएको छ ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चुनावी कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक कार्यक्रममा पाँचजना वक्ता मात्र राख्न तथा उनीहरुलाई मात्र मन्चमा राख्न र खादा माला लगाउने कार्य कम गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।
त्यसैगरी सातै प्रदेशका पार्टीका अध्यक्षहरुले प्रदेशको रिर्पोटिङ, महासचिवको केन्द्रीय कार्यालयसँग सम्बद्ध विभाग र आयोगहरुसँग सम्बद्ध रिपोंटिङ तथा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पास गरेको रिजालले जानकारी दिएका छन् । साथै त्यसमा केन्द्रीय सदस्यहरुले लिखित रुपमा दिएका सुझावलाई समेटेर पार्टीले छिट्टै राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने पनि रिजालले जानकारी दिए ।
घोषणापत्र बनाउन पोखरेलको नेतृत्वमा कार्यदल गठन
त्यसैगरी सोहि बैठकले स्थानीयतहको निर्वाचनका लागि घोषणापत्र बनाउन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साह, मनोजजंग थापा, पूर्वअर्थमन्त्री युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली रहेका छन् ।
रिजालका अनुसार २०७९ बैशाख ९ गते पार्टीको स्थापना दिवस पारेर केन्द्रीय तहबाट पार्टीको दृष्टिकोणसहितको निर्वाचन घोषणापत्र तय र ५३ वटै स्थानीयतहमा स्थानीयतहका समस्याहरुलाई समावेश गरेर त्यहाँका आवस्यकताका आधारमा प्रतिवद्धता पत्र जाहेर गरिने बताइएको छ । त्यसका लागि चैत्र १६ गते अध्यक्ष ओलीले ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिहरुसँग भर्चुअल संवाद गर्नेछन् ।
चैत मसान्तभित्र उम्मेदवार सिफारि गर्न निर्देशन
त्यसैगरी स्थानीयतहको निर्वाचनका लागि चैत मसान्तभित्रै उम्मेदवारहरुको सिफारिस गर्न निर्देशन दिइएको छ ।
केन्द्रीय कमिटीको बैठकले मापदण्ड पारित गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।
पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता विकास र सुशासन विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई उम्मेदवार चयनको आधार बनाइएको रिजालले जानकारी दिएका छन् ।
त्यस्तै वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्ने र जिल्लाले निर्णय गर्ने छन् भने नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिसमा प्रदेश कमिटीले तोक्ने निर्णय भएको रिजालले जानकारी दिए ।
त्यसैगरी बैठकले पार्टीका विभिन्न विभाग गठन, पार्टीको वार्षिक क्यालेन्डर पारित, पार्टीको स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरु अनुमोदन तथा केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम बैठकले पारित गरेको छ ।
वि.सं.२०७८ चैत १० बिहीवार १७:०१ मा प्रकाशित






























