काठमाडौं । नगर विकास कोषले सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत हाल सम्मकै ठूलो लगानी दमक सपिङ कम्प्लेक्समा गर्ने भएको छ ।
६१ करोड रुपैयाँ अनुमानित लागत रहेको दमक सपिङ कम्प्लेक्स’मा कोषले ४२ करोड ८० लाख ३ हजार ८ सय ऋण प्रवाहका लागि ऋण सम्झौता गरेको छ ।
उक्त कम्प्लेक्स निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच चैत १५ गते ऋण सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले हस्ताक्षर गरेका छन् ।
दमक नगरपालिकाले नगरवासीलाई व्यवस्थित एवं आधुनिक सेवा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप सपिङ कम्प्लेक्स निर्माण गर्न लागेको जनाएको छ ।
कम्प्लेक्स आयोजना निर्माणको लागि लाग्ने कुल अनुमानित लागत ६१ करोड १४ लाख मध्ये ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । उक्त कम्प्लेक्स ८ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने जनाइएको छ ।
सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख रोमनाथ ओलीले प्राविधिक दृष्टिकोणबाट बृहत अध्ययन पश्चात निर्माण हुन लागेकाले आयोजना गुणस्तरीय एवं आधुनिक प्रविधियुक्त हुनुका साथै समयमै नै सम्पन्न हुने बताए ।
त्यस्तै कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटेर तयार भएकाले सो कम्प्लेक्स नगरपालिकाको आइकनिक आयोजनाका रुपमा स्थापित हुने बताए ।
निर्देशक सापकोटालो सो आयोजनाले स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । सो आयोजनाले नगरपालिकामा विकसित शहरीकरणको सेवा सुबिधा एकिकृत रुपमा आम स्थानीयनगरवासीलाई प्रदान गर्ने र नगरपालिकाको नविनतम आर्थिक विकासको मुख्य श्रोत बन्न सक्ने कोषका महाशाखा प्रमुख सुर्यबहादुर कार्कीले बताए ।
वि.सं.२०७८ चैत १७ बिहीवार ०७:४० मा प्रकाशित






























