काठमाडौं । नेपालका प्रथम सहिद लखन थापा मगरका बारेमा विना तथ्य प्रमाण केही नेता तथा विद्धानहरुले भ्रामात्मक कुरा गरेको भन्दै नेपाल मगर संघले आपत्ति जनाएको छ ।
नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालिन जहानिया राणा शासनको विरुद्धमा नेपालमा पहिलोपटक संगठित बिद्रोह गर्ने क्रममा बि.स. १९३३ फागुन २ गते तत्कालिन शासकबाट हत्या गरिएका नेपालका प्रथम सहिद लखन थापाका बारेमा विना प्रमाण तथ्यहीन र भ्रामात्मक कुरा गरिएको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।
‘सामान्य ज्ञान र आमजनतामा प्रथम सहिद लखन थापामगर भनेर स्थापित भइसकेको अवस्थामा यस्ता गलत र तथ्यहीन कुरा नगर्न र नगराउनु हुन सम्बन्धीत सबैलाई चेतावनी सहितको खबरदारी गर्दछौं’ संघका महासचिव ज्ञानेन्द्र पुन मगरद्धारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘लखन थापा मगरका साथै मगर समुदायमाथि आँच आउने खालका गलत र भ्रामक कुरा गरेर यस्तै अपमान गर्ने हो भने त्यसको प्रतिवाद नेपाल मगर संघ तथा आम न्यायप्रेमी जनसमुदायले गर्नेछन् । त्यसैले गलत र तथ्यहिन कुरा नगरी सच्चिन र सच्याउन यसै विज्ञप्ति मार्फत् आग्रह गरिन्छ अन्यथा यसको परिणाम गम्भीर भोग्नुपर्नेछ ।’
महासचिव पुनमगरले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेपालका प्रथम सहिद लखन थापा होइनन् भन्ने आसयको सार्वजनिक अभिव्यक्ति प्रति खेद प्रकट गरेका छन् ।
‘नेपाल सरकारद्वारा आधिकारिक रुपमा स्थापित नेपालको प्रथम सहिद लखन थापामगरज्यू हुन भन्ने तथ्य माथि अध्यक्ष केपी वली द्वारा आएको प्रथम सहिद होइनन् भन्ने आसयको सार्वजनिक अभिव्यक्ति खेद्जनक छ ।’ पुनमगरले भनेका छन् ।

वि.सं.२०७८ चैत १९ शनिवार ०९:४४ मा प्रकाशित






























