पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरुप नलिने बताएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ ।
“निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ । विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ । गर्ने त भनिदियो तर कसरी ?”, उनले भनेका छन्, “अघिल्लो पटक जुन जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नु भो । पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?”
प्रचण्डले भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव गरेको उनको आरोप छ । “तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ । भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भैरहेको छ” उनी भन्छन् ।
उनले गठबन्धन गर्नु वा चुनावी तालमेल गर्ने कुरा फरक भएको भन्दै गठबन्धनलाई चुनावमा लैजाने विषय गलत भएको बताए । उनले भनेका छन्, “सरकार सन्चालन गर्ने गठबन्धन एउटा हो, निर्वाचनमा तालमेल गर्नु अर्को हो भन्ने बुझ्नु जरुरी छ । त्यो नबुझिकन गठबन्धनलाई निरन्तरता दिनु अलि मिल्दैन ।”
उनले कार्यकर्तालाई हसिँया हथौडामा भोट हाल भन्न नसक्ने बताए । “थुप्रै मतदाता नयाँ छन्, उनीहरुलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय छ”, उनले भने ।
वि.सं.२०७८ चैत १९ शनिवार १७:२५ मा प्रकाशित






























