फर्शुराम भुर्तेल । स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको संयुक्त मोर्चा कायम गर्ने सहमति भएपनि प्रक्रियामा भने ढिलाई भइरहेको छ ।
ढिलाई र सुस्तताले कतै गठबन्धनको चुनावी एकता ‘हिस्स बुढी किच्च दाँत’ त हुँदैन ? भने आशंका पनि व्यापक उठेका छन् ।
प्रतिगमनबाट महाप्रतिगमन गर्दै दक्षिणपन्थी पुनरुत्थानवादीहरुसँग घाँटी जोड्दै चरम व्यक्तिवाद लादेर निरंकुश सासन चलाउन खोजेको तत्कालीन नेकपाका अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन दलहरुको मतैक्य रहेपनि आ–आफ्ना हैसियत दावी गर्ने क्रममा भने उनीहरुको जिद्धी कवाफमा हड्डि जस्तो त हुँदैन भन्ने शंसय पनि उठेका छन् ।
सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा मंगलबार निर्वाचन तयारी तथा अनुगमन समिति निर्माण गरेर कांग्रेसका गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादीका देव गुरुङ र वर्षमान पुन, समाजवादीका वेदुराम भुसाल र विजय पौडेल, जसपाका अशोक राई र रेनु यादव तथा राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीलाई महत्वपूर्ण जिम्मेवारी दिएको प्रचार गरेको छ । यसक्रममा गठबन्धनका प्रदेश कमिटी, कतिपय जिल्ला र स्थानीय तहमा संयन्त्र तथा संरचना बनाई एकता भाव संप्रेषण गरेका छन् । गुल्मीको मालिका पालिकामा त सत्ता गठबन्धनको सहमति पूर्णत कार्यान्वयन भइसकेको छ ।
कांग्रेसभित्रको एउटा ठुलै तप्काले प्रधामन्त्री शेरबहादुर देउवाको रणनीति सफल हुन नलिन भित्रभित्रै आगो सल्काएको छ । यद्यपी त्यो समुहका पात्रहरु गठबन्धनका अन्य दलप्रति कडा र एमालेप्रति नरम भएर होइन कि, देउवाको असफलतासँगै कांग्रेसको बागडोर आफ्नो हातमा ल्याउने दाउ अन्तर्गत नै उनीहरुको अभिव्यक्ति आउने गरेको छ । यहि स्थितिका वीचमा देउवा मात्र गठबन्धनप्रति नरम छैनन्, रामचन्द्र पौडेल स्वयम् समितिको संयोजकका रुपमा रहेर चुनावी गठबन्धन सफल पार्ने भनिरहेका छन् ।
सत्तारुढ गठबन्धनभित्र आफ्नो हैसियत र औकात नहेर्ने र अत्यधिक बार्गेनिङ्ग गर्ने संस्कृति समस्याको रुपमा देखा परेको छ । पाँच दलीय गठबन्धनका कमजोरी मानिएको राष्ट्रिय जनमोर्चाले अर्घाखाँची, बाग्लुङ र प्यूठानलाई प्रभाव क्षेत्र मान्दै त्यहाँको अधिकांश पालिकाको नेतृत्व माग गरेको छ भने नेकपा (एस) ले ०७४ मा एमालेले जितेका ठाउँमा आफुले पाउनुपर्ने असहज प्रस्ताव सहित कम्तिमा संसदको शक्ति अनुसार सिट पाउनुपर्ने कुरा राखेको छ ।
मधेशमा बढी प्रभाव भएको जसपाले शक्ति सन्तुलनलाई आधार बनाउनुपर्ने अमूर्त कुरा तेर्साएको छ भने नेकपा –माओवादी केन्द्र) ले ०७४ मा जितेको र अहिले बहाली रहेको ठाउँमा सोहि बमोजिम र एमालेसँग रहेका मध्येमा संसदीय हिसाब अनुसार सन्तुलन मिलाउनुपर्ने प्रस्ताव राखेको बताइएको छ । कांग्रेसले भने जस्को जित उसको ठाउँ कायम राख्दै बाँकी ठाउँमा दोस्रो भएकालाई दिनुपर्ने प्रस्ताव राखेको छ । जसपा, नेकपा एस र राष्ट्रिय जनमोर्चाले आफ्नो धरातललाई सहि बुझे भने गठबन्धनमा सिट बाँडफाँटको काम सहज हुने देखिएको छ । अन्यथा अग्राख पालाउने सम्भावना इन्कार गर्न सकिदैन ।
वि.सं.२०७८ चैत २३ बुधवार १०:३० मा प्रकाशित






























