Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

कुनै आमा–बुवाले यस्तो समाचार सुन्न कहिल्यै नपरोस्…



आत्महत्या वा डिप्रेसनका कारण संसारमा धेरै घटनाहरू घटिरहेका हुन्छन् । विभिन्न परिस्थितिमा फरक ढंगलेयस्ता घटनाहरू घटिरहन्छन् । आफूलाई वा आफनो परिवारमा पर्दा यस्ता घटनाहरू अत्यन्त पिडादायक र ह्दयविदारक बन्न पुग्छ । मैले पनि आफनो एकमात्र सन्तानलाई गुमाउनु पर्‍यो । त्यही अनुभव म आज हजारौं आमाका सन्ततिहरूलाई बाँडन चाहन्छु । म एउटा सामान्य जािगरे सामान्य जीवन विताउँदै जागिरको उत्तराद्धतिर दौडिरहेकी थिएँ । आफ्नो सन्तानको सुन्दर भविष्य सबै आमा बुवाहरूले कल्पना गरेकै हुन्छन् । म पनि छोराको पढाई अब्वल देखेर उप्रति दङ्ग थिएँ ।

उ नेपालबाट आइएसीको अध्ययन पछि अष्ट्रेलियाको सिडनीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा उच्च शिक्षाको लागि सन् २०१७ को मार्च १९ तारिख त्यता गएको थियो । उ विश्वविद्यालयमा कम्प्युटर साइन्स विषयमा तेस्रो वर्षको विद्यार्थी थियो ।

कानुन शंकायका विदेशी विद्यार्थीसँग मिलेर उसले सन् २०१७ मा ह्याकथोनमा सहभागी भएर दोस्रो पुरस्कार समेत प्राप्त गरेको थियो । यसैगरी उसले सन् २०१८ को अक्टोबरमा विश्वविद्यालयले आयोजना गरेको नासा गुगल एपी प्रतियोगितामा विदेशी विद्यार्थीसँगै भाग लिएर दोस्रो स्थान समेत हासिल गरेको थियो । यसरी हामी छोराको प्रगति र पढाई प्रति उत्साहित थियौं ।

सधैंझंै त्यस दिन पनि म सुनौलो विहानीको घामसँगै मुस्कुराइरहेकी थिएँ । त्यो दिन २०७६ साल असार २७ गते, ठूली एकादशी परेकाले नुहाई धुवाई सकेर तुलसा रोपेर चिया पिउने तयारीमा थिएँ । अचानक श्रीमानको मोबाइलको घण्टी बज्यो । त्यो आवाज सुन्ने वित्तिकै श्रीमान थुच्चुक्क भूँइमा बस्नु भयो । के भयो भनी म पनि आत्तिएँ । उहाँ बोल्न सक्नु भएन । एकैछिनमा घरमा आफन्त र साथीभाइको भिड लाग्यो । मलाई आफन्तजनले सुनाए अब सकियो, छोरा सकियो । त्यो सुनेपछि ठूलो विजुली चम्कियो र मेरो टाउकोमा आएर बज्रियो, त्यसपछि मैले होस गुमाएँ । केही समय पछि होसमा आएँ । मैले धैर्यताका साथ सोधेँ के भएको मेरो एक मात्र सन्तानलाई ? उत्तरमा पाएँ सुसाइड । मेरो तलको जमीन भासिए जस्तो भयो र एकैचोटि १० रेक्टरको भुँइचालो आएको जस्तो भयो । छिनभरमा हाम्रो एउटा मात्र सन्तानसँगको सपना सिसा जस्तै गरि झरामझुरूम फुट्यो । यसरी नै म मात्र नभएर धेरै आमाहरूको सपना टुटने गरेको छ ।

जब युवाहरू ऊचाइको शिखरमा चड्दै गर्दा अपत्याशित रूपमा चिप्लिएर झर्ने गर्छन् । त्यतिखेर परिवार, समाज र राष्ट्रको पनि सपना टुटन जान्छ । फेरि पनि यो सत्य हो कि हामीले सत्यलाई स्वीकार्ने पर्छ । आज म नितान्त आफनो अनुभव अरूलाई बाँडन गईरहेकी छु । मेरा हातहरू कामी रहेका छन् । आँखाबाट समुद्रका छालहरू उर्लिरहेका छन् । मुटुको धडकन रोकिन खोज्छ । तर पनि मैले भन्ने आँट गरेको छु ।

उ विते पछि थाहा भयो उ गम्भीर मानसिक विरामीवाट उ पीडित भएको रहेछ । उसले विश्वविद्यालयको काउसिलिङ शाखामा गएर परामर्श लिएको र त्यहाँको चिकित्सकले उसलाई गम्भीर मानसिक विरामी भए पछि औषधि दिएको रहेछ । तर विश्वविद्यालयले यस्तो रोगमा विद्यार्थीका अभिभावकलाई जानकारी गराएर परिवारको निगरानीमा औषधि खुवाउनु पर्ने र स्थानीय अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । तर विश्वविद्यालयले यस्तो केही गरेन । जसको परिणाम हामीले आफनो छोरालाई गुमाउनु परयो । यसमा विश्वविद्यालयको ठूलो गल्ती देखिन्छ । तर यस्ता घटना मेरो मात्र होइन अन्य आमाबुवाहरू पनि यस्ता घटनाबाट पीडित रहेका छन् ।
डिप्रेसनको बारेमा धेरै अनुसन्धान भएका छन् । नेपालमा पनि यसको बारेमा धेरै अध्ययन गर्ने संस्था र विज्ञहरू हुनुहुन्छ । तर यस रोगको शिकार हुनमा बारेमा परिवार समाज र राष्ट्रको पनि दोष देखिन्छ । हामीले कलिला छोराछोरीहरूलाई परिपक्क नभई विदेश पठाउन हँुदो रहेनछ । हामीलाई यहाँ भएका कन्सलटेन्सीहरूले केही कुरा मात्र साँचो भनेका हुँदो रहेछन । त्यहाँ गएर उसले के कति संघर्ष गर्नु पर्छ, त्यहाँ काम पाइन्छ कि पाइदैन । कत्तिको गारो हुन्छ । त्यो बारे यथार्थ जानकारी नहुँदा विद्यार्थीहरू अनाहकमा तनाबमा पर्दा रहेछन् । उ हामीलाई भन्ने गर्दथ्यो ‘आमा यहाँ चाइनिज ,कोरियन विद्यार्थी धेरै छन् । उनीहरू यति धनी छन कि सरकारलेनै उनीहरूलाई सहुलियत ऋण आफ्नो देशको सरकारल नै पैसाको सहयोग गर्दौ रहेछ । हामी नेपालीहरू त्यँहा पाँच प्रतिशतले मात्रै राम्ररी पढदा रहेछन् । बाँकी प्राय जसो सस्तो कलेजमा पढेर पीआरको लागि योग्य हुन चाहादा रहेछन् ।’ स्वदेश आफू तीन घण्टा मात्र सुत्ने गरेको कुरा हामीलाई भन्ने गर्दथ्यो ।उ कहिलेकाँही विश्वविद्यालयको पुस्तकालयमा रात भरि अध्ययन गरि बिहान त्यतैबाट काममा जाने कुरा आफुहरूलाई बताउने गर्दथ्यो । हामी सामान्य परिवारको लागि त नेपालकै पढाई राम्रो हुने रहेछ ।

उ लामो समय परिवारबाट टाढा भएकाले उसको भित्री पीडा पनि हामीले बुझन सकेनौ । उ बेला बेलामा हामीसँग फोन सम्पर्कमा रूने पनि गर्दथ्यो । अर्को कुरा उ फोनमा बोल्दा आफनो भनाई समयसमयमा फेरी रहन्थ्यो । यो डिप्रोसन अर्को एउटा लक्षण रहेको रैछ । अनि साथी भाइले पनि उसको समस्या नबुझने र परिवारलाई नबताउने, कोठामा बस्नेले पनि सहयोग नगर्ने । विश्वविद्यालयले पनि विदेशी विद्यार्थीबाट पैसा मात्र लिने र उनीहरूको स्वास्थ्य प्रति ध्यान नदिने, काउन्सिलिङ । गर्दा पनि राम्रो सल्लाह नदिने जस्ता कुराले पनि उसलाई डिप्रेसन हुनमा थप उर्जा मिलेको देखियो ।

केही अनुभूति र सुझावहरू :

– कलिलो उमेरमा वा १२ कक्षा पास गरेको छोराछोरीलाई विदेश नपठाउनु राम्रो ।

– छोराछोरी पठाए पनि कलेजसँग उसको स्वास्थ्य र उसको पढाई बारे नियमित जानकारी राख्नु पर्दछ ।

– छोराछोरीले घर आउछु भन्दा नरोक्ने, समय समयमा आउन दिनुपर्ने रहेछ ।

– आफनो समस्या र ऋणबारे उसलाई नसुनाउनु पर्दो रहेछ ।

– कन्सल्टेन्सीले सबै कुरा साँचो नभन्ने हँुदा, सबै कुरा बुझेर मात्रै पठाउनु पर्ने ।

– सबैभन्दा बावु आमा र परिवारका सदस्यले नै उनीहरूको दुःख सुखमा साथ दिनु र उनीहरूलाई हौसला र प्रेरणा दिनु पर्ने रहेछ र उनीहरूको भावना बुझनु पर्ने रहेछ ।

– अन्तर्राष्ट्रिय अनुसन्धानबाट पनि सामाजिक सन्जालबाट बालबालिकाहरूमा नकारात्मक प्रभाव परेकाले यसबाट कसरी जोगाउने भन्ने बारेमा पनि हामीले विचार पुर्‍याउनु पर्छ ।

जुनसुकै कारणबाट भएपनि आफू भन्दा अगाडि आफनो सन्तानको युवा उमेरमै मृत्यु हुनु जिन्दगी भरिको पोलेको घाउ हो । संसारभरका धेरै आमा बुवाहरूले यस्तो पीडा भोग्नु भएको छ । अब आखिर मृत्युलाई कसले पो रोक्न सक्छ र ? ती सन्तानहरूलाई भावपुर्ण श्रद्धाञ्जली दिँदै उनीहरूको आत्माको चिर शान्तिको लागि सामाजिक कार्यमा जुटौं र केही हदसम्म भावी पिडीलाई यस्तो कार्य गर्नबाट जोगाउन मद्धत गरौं ।

(उप्रेती, स्वदेश फाउण्डेशन नेपालकी अध्यक्ष हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुगु संसार न्यूज । स्थानीय तह निर्बाचनमा मुुगुका धेरै स्थान जित्नेमा पहिलो पार्टी बनेको

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई