विराटनगर । चुनावी गठबन्धनको विरुद्धमा उभिएका कांग्रेस नेता शेखर कोइरालाको जिल्लामा सत्ता गठबन्धन विभाजित बनेको छ । केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल गर्ने तयारी भइरहेका बेला सत्ता गठबन्धन मोरङमा विभाजित भएको हो । गठबन्धनको मुख्य दल कांग्रेसलाई अलग राख्दै अन्य दलले बेग्लै गठबन्धनको निर्माण गरेका हुन् ।
शेखर कोइरालाको निर्देशनअनुसार मोरङले कांग्रेसले चुनावी गठबन्धनप्रति अनिइच्छा देखाएसँगै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै गठबन्धन बनाएका हुन् । मोरङ माओवादीका नेता गणेश उप्रेतीले कांग्रेसले दम्भ देखाएपछि तीन दलीय गठबन्धन बनाइएको बताए ।
उप्रेतीले भने,“केन्द्रको रणनीति एकातिर र तल अर्कोतिर हुने गरी कांग्रेस गए हामी पनि लम्पसार पर्ने कुरै हुँदैन ।”
शुक्रबार विराटनगरमा तीनवटै पार्टीका प्रदेशस्तरीय नेताको उपस्थितिमा भएको छलफलले चुनावी गठबन्धन बनाउने सहमति गरेको थियो । दलहरुले कांग्रेसबाहेक जोसँग पनि तालमेल गर्नसक्ने निर्णय पनि गरेका छन् ।
यस्तो छ मोरङको अवस्था
मोरङमा एक महानगर ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिका, नगरपालिकातर्फ रतुवामाई, लेटाङ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैंचामा कांग्रेसले जितेको थियो । यसैगरी गाउँपालिकातर्फ कटहरी, केराबारी र धनपालथानमा विजयी भएको थियो ।
बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी बनेको थियो । गच्छदार नेतृत्वको समूह अहिले कांग्रेस भइसकेको छ ।
निर्वाचनमा एमालेले बेलबारी र पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिकामा जितेको थियो भने रंगेली नगरपालिकामा माओवादी केन्द्र विजयी बनेको थियो । जहदामा भने उपेन्द्र यादवको जसपा विजयी भएको थियो ।
कांग्रेसले गच्छदार नेतृत्वको समूह आएसँगै मोरङमा कांग्रेस एक्लैले चुनाव जित्ने अनुमान गरेको छ ।
वि.सं.२०७८ चैत २५ शुक्रवार १७:०६ मा प्रकाशित






























