काठमाडौं । न्युयोर्कको रिचमण्ड हिल नजिक सिख युवाहरुमाथि आक्रमण भएको भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार व्यक्तिगत काममा सडकमा हिँडिरहेका सिख युवाहरूलाई आक्रमण भएको हो । आक्रमणकारीले युवाहरुमाथि लाठीले कुटपिट गर्दै र पगडी फुकालेर अपमान गरेका थिए ।
घटनालगत्तै प्रहरी घटनास्थल पुगेपछि आरोपी फरार भएका थिए । सिख संगठनसँग सम्बन्धित स्थानीय नेताहरू पनि घटनास्थलमा पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।
प्रहरीका अनुसार यस घटनामा एक जनालाई पक्राउ गरिएको छ । उनीविरुद्ध घृणा अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । १० दिनअघि पनि सोही ठाउँमा एक सिख युवामाथि आक्रमण भएको थियो ।
न्यूयोर्कका महान्यायाधिवक्ता लेटिसिया जेम्सले एक ट्वीटमार्फत घटनाको निन्दा गरेका छन् । प्रहरीले अपराधीलाई कारबाही गर्ने उनले बताए । भारतीय दूतावासले घटनाका दोषीलाई कारबाही गर्न न्युयोर्क प्रहरी र स्थानीय निकायसँग माग गरेको छ ।
सिख समुदायविरुद्ध घृणा अपराधका घटनाहरू बढे
न्यूयोर्क एसेम्बलीकी पहिलो सिख महिला सदस्य जेनिफर राजकुमारले ट्वीट गर्दै भनेकी छिन्, “यो चिन्ताजनक अवस्था हो। अमेरिकामा सिख समुदाय विरुद्ध घृणित अपराधका घटना बढ्दै गएका छन् ।”
१० दिनअघि रिचमण्ड हिल क्षेत्रमा नै यस्तो घटना भएको भए पनि प्रहरी सचेत नभएको उनले बताए ।
एक वर्षको बीच ९ हजार बढी घटना
मार्च २०२० र जुन २०२१ बीचमा एसियाली अमेरिकीहरू विरुद्ध ९ हजारभन्दा बढी घृणा जगाउने खालका घटनाहरु भएका छन् । जसमध्ये सन् २०२० मा ४ हजार ५ सय ४८ र २०२१ मा ४ हजार ५३३ मुद्दा दर्ता भएका थिए। सन् २०२० मा घृणित अपराधका बढ्दो घटनालाई ध्यानमा राख्दै अमेरिकी एजेन्सी एफबीआईले उनीहरुमाथि अनुसन्धान गर्न भनेको थियो ।
वि.सं.२०७८ चैत ३० बुधवार १५:२४ मा प्रकाशित






























