काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ । अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो ।
पदमुक्त गर्ने प्रयोजनले आफूविरुद्व छानबिन समिति बनाएको भन्दै अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई चुनौति दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफुविरुद्व खडा गरिएको छानबिन समिति अवैधानिक भएको दाबी रिटमा गरेका छन् ।
आजबाट सुनुवाइ सुरु हुन लागेको रिटको पक्षमा दर्जनको हाराहारीमा वरिष्ठ अधिवक्ताहरुले बहस गर्ने भएका छन् । अधिकारीले दायर गरेको रिटको पक्षमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेतीलगायतले बहस गर्दैछन् । अधिवक्ता टीकाराम भट्टराईले पनि अधिकारीको पक्षमा बहस गर्ने बताइएको छ ।
गत चैत २४ मा सरकारले अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको थियो । समिति गठन भएसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका छन् ।
अधिकारीले अन्तरिम आदेशमार्फत जाँचबुझ समितिलाई कामकाज गर्न रोक लगाउन र आफुलाई नियमित काममा फर्काउन माग गरेका छन् । उनले अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहपूर्ण तरिकाले आफूलाई हटाउन जाँचबुझ समिति गठन गरेको, समितिको नेतृत्व आफ्नै नातेदारलाई दिएको जस्ता आधारसहित जाँचबुझ समितिकै वैधानिकतामा चुनौति दिएका छन् ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार १३:०३ मा प्रकाशित






























