काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले बिहीबार काठमाडौं महानगरको मेयरमा सिफारिस गरेका नामहरुप्रति कांग्रेसभित्रैबाट विरोध भएको छ ।
कांग्रेसको काठमाडौं महानगर समितिले बिहीबार कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंह, नगर सभापति निलकाजी शाक्य, प्रगतीमान रञ्जित र बर्तमान उपमेयर हरिप्रभा खड्गीको नाम सिफारिस गरेपछि मेयरका आकांक्षी रहेका तर सिफारिसमा नपरेका नेताहरु बाबुराम आचार्य र सागर भट्टराईले गम्भीर आपत्ति जनाएका हुन् ।
आचार्य र भट्टराईले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्–‘काठमाडौंका ३२ वडामध्ये सबैभन्दा महत्वपूर्ण मानिने वडा नं १० बाट सम्मानजनक रुपमा सिफारिसमा परेका हामी नेताहरु बावुराम आचार्य र सागर भट्टराई लगायत कांग्रेस र काठमाडौंका लागि महत्वपूर्ण योगदान दिएका र दिनसक्ने क्षमता भएका नेताहरुसँग कुनै छलफल नगरी एकलौटी ढंगले महानगरले बागमती प्रदेश समितिलाई मेयर÷उपमेरमा नाम सिफारिस गरेकोमा हआम्रो गम्भरि आपत्ति छ ।’
उनीहरुले विधि, पद्दति र लोकतन्त्रको सामान्य मूल्य, मान्यतालाई हस्तक्षेप गरी छलफल नै नगरी नेपाली कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले आफ्ना नेताहरुमा खेलवाड गरेको आरोप लगाउँदै एकलौटी रुपमा गरिएका सिफारिसका निर्णय सच्याउन समाग समेत गरेका छन् ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १२:२२ मा प्रकाशित






























