काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका पालुङटार नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका ५२ उम्मेदवारले संयुक्त राजिनामा दिने चेतावनी दिएका छन् ।
गठबन्धन दलबीच भएको तालमेल अनुसार मेयर पदका उम्मेदवार दीपकबाबु कँडेललाई हटाएर जनता समाजवादी पार्टीका प्रेम गुरुङलाई समर्थन गर्ने केन्द्रको निर्देशनबाट हस्तक्षेप भएको भन्दै उनीहरुले यस्तो निर्णय गरेको बताएका छन् ।
यसअघि पालुङटारमा गठबन्धन दलबीच चुनावी तालमेल हुन नसकेपछि मित्रवत् प्रतिश्पर्धा गने निर्णय गरेर पालुङटारका सबै पदमा कांग्रेसले उम्मेदवारी दिएको थियो । उम्मेदवारको नामावली समेत प्रकाशन गरिसकिएको अवस्थामा आइतबार मेयर पदको उम्मेदवारी फिर्ता लिएको भन्दै कँडेलले प्रेस विज्ञप्ति जारी गरेर केन्द्रको निर्देशन पालना गर्ने बताएपछि कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका ५२ जनाले सामुहिक राजिनामा दिने निर्णय गरेका हुन् ।
उनीहरुले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको दवावका कारण मेयर पद जसपालाई छोड्नु परेको भन्दै सामुहिक राजिनामा दिने चेतावनी दिएका हुन् ।
‘विभिन्न संचार माध्यममा आएका समाचार अनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको दबाबकै कारण नेपाली कांग्रेस पालुङटारले आफ्नो नगरप्रमुख पदको उम्मेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ, यसको हामी घोर भत्र्सना गर्दछौं,’उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गरि अन्य कुनै पार्टीको उम्मेदवारीलाई समर्थन गर्नु परेमा नेपाली कांग्रेस पालुङटारको सबै ५२ जना उम्मेदवारहरुकै सामुहिक रुपमा राजिनामा दिने निर्णय गर्दछौ ।’

पालुङटारको मेयर पदबाट उम्मेदवारी फिर्ता लिएको कंडेलको घोषणा, जसपालाई समर्थन गर्ने
वि.सं.२०७९ वैशाख १९ सोमवार १४:३२ मा प्रकाशित






























