काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताए ।
“कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुको कोसिस छन्”, प्रचण्डले भनेका छन, “यो नकारात्मक प्रवृत्तिलाई तोड्नुपर्छ ।”
उनले गलत प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । उनले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको टिप्पणी गरे ।
“घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ”, प्रचण्डले भने, “पुरुषहरुले धेरै राज गर्यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं ।”
अहिले पाँच दलीय सत्ता गठबन्धनले काठमाडौं र भरतपुर महानगरको मेयरमा महिला उम्मेदवार उठाएको छ । काठमाडौंको मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमति हुन् भने भरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहाल प्रचण्डकी छोरी हुन् । दुई उम्मेदवारलाई लिएर टिप्पणी भइरहेका बेला प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको हो ।
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १७:४८ मा प्रकाशित





























