काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नियम विपरित अडलट कारोबार नगर्न सरोकारवालालाई निर्देशन दिएको छ । नेप्सेले धितोपत्र व्यवसाय संचालन गर्ने जिम्मा अनुमति पत्र प्राप्त सदस्य दलालमा रहेको स्मरण गराउँदै सम्पुर्ण सदस्य दलाललाई उक्त प्रावधान विपरित सदस्य दलाल व्यवसायीको टिएमएस प्रणालीबाट अनलाईन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न/नगराउन अनुरोध गरेको हो ।
हाल अडलट कारोबार गर्न सक्ने व्यवस्था धितोपत्र कारोबार संचालन विनियमावलीले गरेको छ । तर इकाई वा सो भन्दा बढी धितोपत्र भएको धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्रि गर्न पाइदैन । यदि शेयरधनीसँग १० कित्ता वा सो भन्दा बढी कित्ता शेयर भएमा १० कित्ता वा सो भन्दा कम शेयर बिक्रि गर्न नपाइने व्यवस्था छ ।
धितोपत्र कारोबार संचालन विनियमावली, २०७५को विनियम (५)को उपविनियम (१)मा कारोबार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मुल्य रु. १० भएमा १००० कित्ता र अंकित मुल्य रु. १०० भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था रहेको साथै सोही विनियमको उपविनियम (२)मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मुल्य रु.१० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मुल्य रु. १०००/– भएमा १ कित्ता कारोबार इकाई हुने उल्लेख छ । सोही विनियमको उपविनियम(३) बमोजिम “उपविनियम (१) र (२)मा उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ । तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्रि गर्न पाइने छैन । ” भन्ने उल्लेख छ ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १२:५८ मा प्रकाशित






























