डोटी । डोटीमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा सत्तापक्षमै रहेको नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहभन्दा दिपायल सिलगढी तथा शिखर नगरपालिकाको निर्वाचनलाई विषेश महत्वका साथ हेरिएको छ । यी दुई नगरपालिकामा ठूला दलले नयाँ तथा युवालाई उम्मेदवार बनाएकाले विशेष चासोका साथ हेरिएको शिखर नगरपालिका-११ का इन्द्रबहादुर बलायरले बताए ।
यसैगरी यस वर्ष गठबन्धन भएका कारण मतदाताले उम्मेदवारलाई दिनुपर्ने मत चिह्न पनि फरक-फरक भएको र मतदान गर्ने तरिका खासै नसिकेको हुँदा अन्य निर्वाचनभन्दा यस वर्ष मत बदर हुने सङ्ख्या बढ्न सक्ने पूर्वीचौकी गाउँपालिका चैकोटका स्थानीय चक्रबहादुर कठायतले बताए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले पाँच, कांग्रेस तीन तथा माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी हासिल गरेका थिए ।रासस
वि.सं.२०७९ वैशाख २८ बुधवार ०९:२४ मा प्रकाशित






























